काठमाडौं । डेंगु रोगको संक्रमण ७४ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि मुस्ताङ, हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु रोगको संक्रमण पनि बढ्न थालेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७४ जिल्लामा ४ हजार ९७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म तनहुँमा सबैभन्दा धेरै ७ सय ८१ जनामा डेंगु संक्रमण देखिएको छ । यस्तै, काठमाडौंमा ३ सय ८०, कास्कीमा ३ सय ५१, पर्वतमा १ सय ७७, चितवनमा १सय ५७ र झापामा १४९ जना संक्रमित भएका छन् ।
यो अवधिमा डेंगुबाट २ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार १ सय ४३ जनामा डेंगु रोगको संक्रमण देखिएको थियो भने २० जनाले ज्यान गुमाएका थिए ।
डेंगु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु लाग्दछ ।




















प्रतिक्रिया