Logo

अर्थ

आइफोन १६ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । एप्पल कम्पनीले आइफोन-१६ सिरिज सार्वजनिक गरेको छ । ९ सेप्टेम्बरको दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन-१६ सिरिज सार्वजनिक गरेको हो ।

कम्पनीले यस वर्ष ‘इट्स ग्लोटाइम’ नाम दिएर सार्वजनिक समारोह आयोजना गरेको थियो ।

समारोहमा आइफोन-१६ सिरिजसहित एप्पल वाच सिरिज-१०, एप्पल वाच अल्ट्रा-२, एयरपड्स-४, एयरपड्स म्याक्स सार्वजनिक गरिसकेपछि आइफोन-१६ सिरिज सार्वजनिक गरिएको थियो ।

यस सिरिज अन्तर्गत कुल चार मोडेल (आइफोन-१६, आइफोन-१६ प्लस, आइफोन-१६ प्रो र आइफोन-१६ प्रोम्याक्स) सार्वजनिक गरिएको छ ।

आइफोन-१६ का विभिन्न विशेषताहरु छन् । तीमध्येको एक हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ।

एप्पल कम्पनीका प्रमुख टिम कुकले सार्वजनिक समारोहमा एप्पल इन्टेलिजेन्स र यसको उत्कृष्ट क्षमताका साथ नयाँ डिजाइनमा आइफोनलाई ल्याएको बताए । उनका अनुसार गत जुन महिनामा सार्वजनिक गरिएको एप्पल इन्टेलिजेन्सभन्दा शक्तिशाली र नयाँ पर्सनलन इन्टेलिजेन्स सिस्टम धेरै तरिकाले अलग छ ।

आइफोन-१६ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा एक बटन राखिएको छ । यसको प्रयोगबाट मोबाइल प्रयोगकर्ताले क्यामरा एप खोल्ने, फोटो खिच्ने, भिडियो बनाउने, जुम गर्ने गर्न सक्छन् । यस्तै एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काम पनि त्यही बटनबाट हुने छ ।

आइफोन-१६ सिरिजमा एक्सन बटन पनि राखिएको छ । प्रयोगकर्ताले यो बटनमा एकपटक थिचेर विभिन्न फङ्सनमा सजिलैसँग जान सक्छन् ।

आइफोन–१६ सिरिजमा एप्पल इन्टेलिजेन्सका लागि विशेष गरी A18 चिप प्रयोग गरिएको छ । यसबाट पावर क्षमतासँगै ब्याट्रीको लाइफ पनि बढ्ने कम्पनीको दाबी छ ।

आइफोन-१६ मा ४८ मेगापिक्सलको डुअल क्यामरा सिस्टम छ । आइफोन-१६ एकपटक फुल चार्ज गरियो भने लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको दाबी कम्पनीले गरेको छ । आइफोन-१६ प्रोमा भने यस्तो क्षमता ३३ घण्टाको छ ।

आइफोन-१६ र आइफोन-१६ प्लस कुल पाँच रङ्ग (कालो, सेतो, गुलाबी, हल्का हरियो र निलो रङ्गमा उपलब्ध छन् । आइफोन-१६ प्रो र प्रोम्याक्स भने चार रङ्ग (कालो, सेतो, क्रिम कलर र हल्का सुनौलो रङ्ग) मा उपलब्ध छन् ।

आइफोन-१६ को साइज ६.१ इन्चको छ । आइफोन-१६ प्लस ६.७ इन्च र आइफोन-१६ प्लसको साइज ६.७ इन्चको छ । यसैगरी आइफोन-१६ प्रोको साइज ६.३ इन्च र आइफोन-१६ प्रोम्याक्सको साइज ६.९ इन्चको छ ।

आइफोन-१६ र आइफोन-१६ प्लस तीन भेरियन्ट (१२८ जीबी, २५६ जीबी र ५१२ जीबी)मा उपलब्ध छन् । आइफोन-१६ प्रोका चार भेरियन्ट (१२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी) छन् ।

आइफोन प्रोम्याक्स तीन भेरियन्ट (२५६ जीबी, ५१२ जीबी र १ टीबी) मा उपलब्ध छन् ।

आइफोन-१६ सिरिजका मोबाइलहरु १ लाख २७ हजार ९०० रुपैयाँदेखि २ लाख ३२ हजार रुपैयाँसम्म पर्ने बताइएको छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलवार १०:१५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।