पोखरा । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका पूर्वसञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपको अनुमतिका लागि बिहीबार कास्की जिल्ला अदालत लगिँदै छ ।
लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको बताइन् । उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गरिन् ।
‘अहिले प्रमाण बुझिरहेको अवस्था छ । पहिला कागजात देखाएर त्यसैको आधारमा बयान लिने हो,’ उनले भनिन्, ‘प्रमाणहरु नजुटिसकेको अवस्थामा बयानलाई प्राथमिकता नदिइएको हो ।’ उनका अनुसार कागजात प्रमाणित गर्ने काम भइरहेकोले लामिछानेको बयान लिपिबद्ध भइसकेको छैन ।
लामिछानेले बयानका क्रममा समन्वय गरेको उनले बताइन् । उनले भनिन्, ‘हामीसँग छिटो बयान सक्नुस् भन्नुभएको छैन । बयानमा सघाउने उहाँको दायित्व र कर्तव्य पनि हो नि !’
पूर्वडीआईजी जोशी असोज ६ मा पक्राउ परेका हुन् । लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि बिहीबार अदालत लगिँदै छ ।




















प्रतिक्रिया