बुटवल । लुम्बिनी प्रदेशमा हिजो बुधबार नियुक्त तीन जना नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्रि नियुक्त गरेका थिए ।
तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका हुन् ।
कांग्रेस र एमालेका ५६ जना सांसदको हस्तक्षरमा साउन ७ गते नेकपा एमाले संसदीय दलका तत्कालीन उपनेता (हाल नेता) चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीलगायतको सहभागिता थियो ।
प्रतिक्रिया