काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिन सन्तोषजनक रहेको बताएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा संघीय सरकार बनेको १०० दिन पूरा भएको छ । असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको र उक्त सहमतिको जगमा असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए ।
ओली सरकारका कामप्रति कांग्रेस सन्तुष्ट रहेको सभापति देउवाले बताएका हुन् । सरकारका कामप्रति असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको पनि सभापति देउवाको भनाइ छ ।
‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । सय दिनलाई मैले त राम्रो मानेको छु,’ न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘सय दिनलाई हनिमुन डेज भन्छन्, १०० दिनमा ओलीजीले राम्रो काम गरेका छन्।’
बाढी पहिरोमा पनि सरकारले उद्धार र खोजी गरेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि डेढ वर्ष आफूले नेतृत्व गर्ने सहमति भएको भन्दै उनले भने, ‘कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर ? ठिक छ, सबैको राम्रो छ सय दिनको काम ।’




















प्रतिक्रिया