Logo

प्रमुख समाचार

उपनिर्वाचन हेटौँडा–१२ : माओवादीलाई विरासत जोगाउने चुनौती



मकवानपुर । आगामी मंसिर १६ मा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने सूचीमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पद पनि छ ।

२०७९ वैशाखमा भएको स्थानीय तहका निर्वाचनबाट वडा अध्यक्षमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्षको निर्वाचनमा मुख्य तीन ठुला दलसँगै अन्य साना दलले पनि उम्मेदवार उठाउने तयारी गरेका छन् । साना दलहरू राप्रपा नेपाल, एकीकृत समाजवादी, रास्वपा लगायतका दलहरूले उम्मेदवार उठाउने तयारी गरे पनि पनि

राप्रपाले हेटौँडा–१२ को वडा अध्यक्षमा प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । हेटौँडा–१२ मा साना दलहरूले निर्वाचनमा सहभागिता जनाए पनि प्रतिस्पर्धा भने मुख्यतः नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबिच नै हुने देखिन्छ । सोही अनुसार दलहरूले निर्वाचनको तयारी अघि बढाएका छन् ।

हेटौँडा–१२ कालागि एमाले, कांग्रेस र माओवादीले वडा अध्यक्षको उम्मेदवार तय गरिसकेका छन् । कांग्रेसले अर्जुन तिवारीलाई, एमालेले राजेश नगरकोटी र माओवादीले रविन प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले अघिल्ला २ वटा निर्वाचनमा पराजित भएका तिवारीलाई उम्मेदवार बनाउने निर्णय गर्दा एमालेले २०७९ को निर्वाचनमा तेस्रो स्थानमा रहेका नगरकोटीलाई नै दोहोर्‍याएको छ ।

माओवादीले भने नयाँ उम्मेदवार खडा गरेको छ । गत २०७४ को निर्वाचनमा वडा सदस्य पदमा पराजित भएका स्वर्गीय राजेश प्रधानका भाइ रविन प्रधानलाई माओवादीले टिकट दिएको छ । राजेशको गत २०८० साउन २४ मा डेंगु सङ्क्रमणका कारण निधन भएको थियो ।

संघीयतापछिका २ वटा स्थानीय तह निर्वाचनमा हेटौँडा–१२ मा माओवादी केन्द्रले जित्दै आएको छ । २०७४ र २०७९ मा ललित बहादुर घलानले जित निकालेको हेटौँडा–१२ मा माओवादीलाई आगामी निर्वाचन निकै चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको उक्त वडामा मिश्रित बसोबास छ । एकातर्फ सांगठनिक रूपमा कमजोर बन्दै गएको माओवादीलाई विरासत जोगाउनु पर्ने चुनौती कायमै छ भने अर्कोतर्फ नयाँ उम्मेदवारलाई नागरिक माझमा परिचित गर्नुपर्ने बाध्यता छ । त्यसो त सो वडामा दुवै निर्वाचनमा माओवादी केन्द्र एकल रूपमा निर्वाचनमा भाग लिएको थियो । दुवै निर्वाचनमा माओवादी केन्द्रबाट घलानले झिनो मतले जित निकाल्दै आएका थिए ।

प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार  ८ : ४८ बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।