धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेका छन् । गृहजिल्ला पुगेपछि देउवा सोमबार बिहान पर्यटकीय क्षेत्र आलिताल पुगेका थिए ।
त्यसपछि परशुराम धामको दर्शन गरेका देउवाले त्यहाँ कार्यकर्तासंग भेटघाट पनि गरेका छन् । सो क्रममा उनले डडेल्धुरामा अधुरा रहेका विकास योजनालाई पूर्णता दिने प्रतिबद्धता जनाएका छन् ।
रंगुन नदीमा अधुरो रहेको तटबन्ध निर्माण गर्ने, परशुराम नगरपालिका ६ र १२ जोड्ने रंगुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडक खण्डमा पनि पक्की पुल निर्माण गर्ने उनको प्रतिबद्धता जनाए ।
उनले महाकालीमा भारत जोड्ने पक्की पुल निर्माणका लागि पनि प्रक्रिया अगाडि बढेको बताए । यस्तै नेकपा माओवादी केन्द्र परशुराम नगर कमिटीले देउवालाई एक सय ७२ बुँदे ध्यानाकर्षणपत्र तथा मागपत्र बुझाएको छ ।
नगर कमिटी अध्यक्ष शेरसिंह मालको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको हो । परशुरामबाट डडेल्धुरा जिल्ला सदरमुकाम जाने क्रममा देउवालाई ठाउँठाउँमा बाजागाजासहित स्वागत गरिएको थियो ।
कांग्रेसका नेता तथा कार्यकर्ता, देउवाका आफन्त र अन्य पार्टीका नेता तथा कार्यकर्ता पनि देउवाको स्वागतमा सहभागी भएका थिए । सोमबार बेलुका जिल्ला सदरमुकाम अमरगढी पुगेका देउवालाई त्यहाँ पनि बाजागाजासहित स्वागत गरिएको छ ।
देउवा सदरमुकामको बागबजारमा हिडेरै गएका थिए । देउवा ०७० पछि पहिलोपटक सडक मार्ग भएर गृहजिल्ला पुगेका हुन् । ०७४ र ०७९ को निर्वाचनमा उनी हेलिकोप्टरमार्फत जिल्लाका विभिन्न कार्यक्रम र मतदानमा सहभागी भएका थिए ।
२ गतेसम्म गृहजिल्लामा रहने उनी धार्मिक र पार्टीका कार्यक्रममा सहभागी हुने कार्यतालिका छ। जिल्ला सभापति भीमबहादुर साउदका अनुसार देउवा कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा सहभागी हुनेछन् ।
उनले २८ गते पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम छ । उनी ३० गते आफ्नो गृहपालिका गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुनेछन् । देउवाले डडेल्धुराबाट सात पटक चुनाव जितिसकेका छन् ।
प्रतिक्रिया