Logo

प्रमुख समाचार

क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय



काठमाडाैं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ ।

हालै सम्पन्न नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले क्रान्तिकारी पार्टीहरुसँग एकताको उदेश्य राख्दै तत्काल निकट पार्टीहरुसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको जनाएको हो । एकतालाई प्राथमिकतामा राख्दै त्यसको सुरुवात मोर्चाबाट सुरु गरिने नेकपाले जनाएको छ ।

त्यस्तै, नेकपाले आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय गर्दै त्यसका लागि पार्टी दर्ता गरेर उपयुक्त चूनाव चिन्ह लिने निर्णय गरेको छ । आगामी चुनावलाई नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गरिने नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवले जानकारी दिए ।

बैठकको निर्णयमा भनिएको छ, ‘क्रान्तिकारी पार्टीहरूसँग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरूसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरिएको छ ।’

त्यस्तै बैठकले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ । त्यसका लागि पार्टीले सुव्यवस्थित बहस, अन्तरक्रिया गर्दै विशेष अधिवेशनको आयोजना गर्ने पनि निर्णय भएको छ ।

पार्टीले देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरब्याज, ऋण आतंक लगायतका मुद्दामा आगामी फागुन २१ गतेदेखि झापा–कञ्चनपुर जनमार्च संचालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार १५:०४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।