Logo

प्रमुख समाचार

कांग्रेसका उपसभापति गुरुङसँग सीआईबीले लियो दोस्रो पटक बयान



काठमाडौँ । नेपाली  कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे दोस्रो पटक बयान गराएको छ । गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर सोधपुछ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए ।

सीआईबीमा गुरुङले करिब ५ घण्टा बयान दिएका हुन् । यसअघि कार्तिक २८ मा प्रहरीले उनलाई ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको घटनामा सोधपुछ गरेको थियो । सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ ।

ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूको बिचमा २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको भेटिएको छ ।

प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको छ । अनुसन्धान अधिकृतहरूसँग गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको बताएका छन् । उनले भनेका छन्, ‘मितेरी सहकारीले मेरो घर र इज्जत सबै खाइदियो ।’

धनराजले मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताएका छन् । उनकी पत्नी गुरुङ र अर्का आरोपी ज्योति भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ ।

मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन गरेको भेटिएको छ ।

प्रकाशित मिति : २४ पुष २०८१, बुधबार ०७:१६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।