Logo

प्रमुख समाचार

योभन्दा उत्तम अर्को लोकतान्त्रिक व्यवस्था छ भने छलफल गरौँ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विकल्पमा अर्को उत्तम प्रणाली नभएको भन्दै केही मान्छेहरूको स्वार्थको पछि देश लाग्न नसक्ने बताएका छन् । मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै पछिल्लो समय व्यवस्था र संविधानका विरुद्धमा आवाज उठ्न लागेको भन्दै उनले अहिलेको भन्दा राम्रो प्रणाली भए छलफल गर्न सकिने बताए ।

अहिले व्यवस्था र संविधानका विरुद्धमा पनि केही आवाज उठ्न थालेको छ । स्पष्ट के हो भने, चाहियो के त ? यो भन्दा बेटर प्रणाली कुनै छ भने ठिक छ । यो भन्दा राम्रो प्रणाली के हो ? एकाध मान्छेका स्वार्थहरूको पछाडि देश लाग्न सक्दैन । बेटर प्रणालीका लागि संविधान र सरकार तयार छ । जनता तयार छन् । छलफल गरौँ,उनले भने । त्यसका लागि शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणालीको बाटोमा सरकार रहेको बताए ।

ओलीले अहिले शान्ति र एकता चाहिएको बताए । विविधतायुक्त देश भएकोले यसमा एकता हुनुपर्ने र यही नै सम्पन्नता भएको भन्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणाली, बाटो त्यसका लागि तयार गरेको बताए । आजको हाम्रो तरिका त्यो हो । सामाजिक मूल्यमान्यतालाई दखल नपारि अघि बढ्ने बाटो हो । त्यो गर्छौं । यसरी हामी राजनीतिक हिसाबले स्पष्ट छौं,प्रधानमन्त्री ओलीले भने ।

यति सानो विविधतायुक्त र एकता भएको देशमा पहिले विभेद थिए । राजनीतिक प्रणालीले नै विभेद हुर्काएको थियो । अहिले हामी त्यो प्रणालीमा छैनौँ । आज हामी सबैको व्यवस्था र सबैका निम्ति सुशासन, अधिकार, विकासको प्रणालीमा छौँ । जनताको तन्त्रमा छौँ । ओलीले सामाजिक न्याय र समानता कायम गर्दै सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता कायम गर्ने ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । देश विकासको लागि शान्ति चाहिएको छ । अब पछाडि फर्कन सक्दैनौँ । आफ्नो क्षमताको हिसाबले जो पनि अघि बढ्न सक्छ, उनले भने ।

व्यवस्थाविरुद्ध पनि आवाज उठ्न थालेको भन्दै उनले योभन्दा राम्रो प्रणाली के हो त ? भन्दै प्रश्न गरेका हुन् । राम्रो प्रणालीका लागि सरकार तयार रहेको उनको भनाइ छ । ओलीले नागरिक सर्वोच्चता भएको प्रणालीबारे स्पष्ट रहेको र समाजवादतर्फ उन्मुख रहेको बताउँदै भने, सामन्तवादतर्फ उन्मुख छैनौँ । दुई पटकको संविधानसभाले जनतामा शक्ति रहेको संविधान बनाएको हो । यसलाई दुई तिहाइले संशोधन गर्नसक्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलवार २०:३५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।