Logo

प्रमुख समाचार

राजावादी समूहमा भाँडभैलो, लिङदेनले गरे वयोवृद्ध सुवेदी नेतृत्वमा गठित समितिमा बस्न अस्वीकार



राजावादी समूहमा भाँडभैलो सुरु भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पुनर्स्थापनाका लागि वयोवृद्ध पूर्वपञ्च नवराज सुवेदीको संयोजकत्वमा जनआन्दोलन समिति गठन गरेसँगै विवाद सतहमा आएको हो ।

राप्रपा, राप्रपा नेपाल, शिव सेना र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मिलाएर आन्दोलन अघि बढाउने भन्दै ज्ञानेन्द्रकै सक्रियतामा सुवेदी नेतृत्वमा सोमबार समिति घोषणा भएको छ ।

उक्त समितिप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आपत्ति जनाएका छन् । उने आफूहरुसँग परामर्शै नगरी समिति गठन गरिएको भन्दै असन्तुष्टि जनाए । उनले आफूहरुलाई नसोधी समिति गठन भएको बताए ।

‘मैले पनि सञ्चार माध्यमबाट संयुक्त जनआन्दोलन समिति घोषणा सुनेको हुँ’, लिङदेनले भने, ‘हामीसँग सल्लाह भएर समिति बनाइएको होइन । हामीसँगै एकपटक नसोधी समिति बनेछ ।’

लिङदेनले सेवेदीको समितिमा आफू नरहने पनि उल्लेख गरे । आफू संलग्न नरहेको समितिमा नबस्ने उनले स्पष्ट गरे । ‘जब हामीलाई निषेध गरेर समिति गठन गरिएको छ भने बस्ने कुरा भएन’, उनले भने ।

यसअघि २५ फागुनमा विभिन्न राजावादी समूहले पोखराबाट फर्कने क्रममा पूर्वराजा ज्ञानेन्द्रको विमानस्थलमा स्वागत गरी निर्मल निवाससम्म लगेको थियो ।

उक्त प्रदर्शनको जस कसले लिने भन्नेमा राजावादी समूहबीचको विवाद सतहमा आएको थियो । मेडिकल व्यवसायी प्रसाईंले आफूले बनाएको माहोलमा राप्रपा अध्यक्ष लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा ढोक्सा थाप्न आएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार २१:४०   :  बजे

393
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।