काठमाडौं । गृहमन्त्री रमेश लेखक तीनकुने पुगेर राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका छन् ।
उनले यस क्षेत्रको क्षतिबारे सरकारले अनुसन्धान गरेर यथार्थ विवरण निकाल्ने बताए । प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा २ जनाको मृत्यु भएको छ ।
गृहमन्त्री लेखक शनिबार बिहान उक्त क्षेत्रको अनुगमनमा गएका हुन् । दुर्गा प्रसाईं र नवराज सुवेदीलगायतले नेतृत्व गरेको राजावादीहरूको समूहले शुक्रबार काठमाडौंका तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।
उक्त क्षेत्रको अनुगमन गर्न गृहमन्त्री लेखकसहित मन्त्रालयका उच्चपदस्थ अधिकारी पुगेका हुन् । उनले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गरे । पार्टी अध्यक्ष माधवकुमार नेपालले क्षतिबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरू उक्त पार्टीको कार्यालयमा पुगेका थिए ।




















प्रतिक्रिया