काठमाडौँ । काठमाडौँको तीनकुनेमा चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड, आगजनी तथा लुटपाटको जिम्मेवारी निर्मल निवासले नलिने पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले बताएको छ ।
पूर्वराजा शाहका संवाद सचिव डा. फणिराज पाठकले मंगलबार पत्रकारसंग कुरा गर्दै चैत १५ गतेको प्रदर्शन पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा नभएको जिकिर गरेका हुन् । त्यस दिन जसले प्रदर्शनको आयोजना गरेको हो, उही घटनाको जिम्मेवार हुने उनको तर्क छ।
उक्त प्रदर्शनको आयोजना नवराज सुवेदीको संयोजकत्वमा गठित राजसंस्था पुन: स्थापनाका लागि ‘संयुक्त जनआन्दोलन समिति’ले गरेको थियो । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि सहभागी थिए ।
तर स्थानीय सरकार अर्थात् काठमाडौँ महानगरपालिकाले त त्यस दिन गरिएका फोहोर र तोडफोडको प्रमुख जिम्मेवार पूर्वराजा शाह नै भएको ठहर गर्दै जरिवाना नै तोकिसकेको छ नि ? भन्ने प्रश्नमा संवाद सचिव डा. पाठकले भने, ‘उहाँले जिम्मेवारी लिइबक्सन्न जुन समितिले कार्यक्रम गरेको छ, जरिवाना उसैसँग लिनपर्यो। यत्ति कुरा त मेयरजस्तो मान्छेले नबुझ्या होला जस्तो लाग्दैन ।’
त्यस दिन गरिएका फोहोर र क्षतिका लागि काठमाडौँ महानगरपालिकाले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोक्दै पत्र लेखिसकेको छ ।
‘त्यस दिन कार्यक्रमका लागि जिल्ला प्रशासनले फलानोलाई स्वीकृति दिने, त्यहीअनुसार कार्यक्रम गर्ने, अनि जिम्मेवारी राजालाई आउने हुन्छ र’, पाठकले भने, ‘त्यस्तो पनि अनुसन्धान हुन्छ र ! उहाँ (काठमाडौँका मेयर) ले रिअलाइज गर्नुहोला, करेक्सन गर्नुहोला। मिस्टेक भयो भने करेक्सन हुन्छ ।
संवाद सचिव पाठकले फागुन २५ गतेको कार्यक्रम मात्र पूर्वराजा शाहको भएको जिकिर गरे । त्यस दिन झन्डै १ महिनाको भ्रमणपछि पोखराबाट फर्किएका पूर्वराजा शाहलाई राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईं समूहलगायत राजावादीले भव्य स्वागत गर्दै गणतन्त्रविरुद्ध नारा लगाएका थिए ।




















प्रतिक्रिया