काठमाडौं । गणतान्त्रिक लोकतन्त्र आयो, यो तन्त्रप्रति, तन्त्रका सञ्चालकप्रति लोकको विश्वास रहेन । यो पद्धति जनजीवन बन्नैसकेन । जनताले अपनत्व ग्रहण नै गरेनन् । यही कारण जनअसन्तोष बढ्दै गएको छ । बढ्दो जनअसन्तोष राज्य सञ्जालभरि छरपस्ट देखिन्छ । संसद र सरकारमा देखिन्छ । सडकमै छताछुल्ल पोखिन थालेको छ ।
अब त रक्तपात रोकिएला, शान्ति र समृद्धि, सुशासन र न्यायको अनुभूति गर्न पाइएला भन्ने लोकको अपेक्षामाथि राजनीतिक दल र नेताहरू घात गरे, राजनीति अपराधिकरणतिर उन्मखु हुँदा सुशासन कौवालाई बेल पाकेसरह भयो । यसकारण गणतन्त्रमा देश र जनताले हारे । जब जनतामा घृणाभाव फैलिन्छ, अराजकता बढ्छ, हिंसाले टाउको उठाउँछ । मूल्य देश र जनताले चुकाउनु पर्छ ।
जस्तोसुकै आन्दोलनमा पनि नेतृत्वलाई नोक्सानी नहुने, छटपटीमा देश र लोक हुने । यतिबेला देशैभरिका सडकदेखि संसदसम्म, पार्टीदेखि नागरिकसम्म बहस चलिरहेको छ । असन्तोष, विभेद, निषेध, पूर्वाग्रह बढेर गएको छ । यस्तो वातावरण भनेको फेरि पनि देश र जनताले हार्ने अवस्था हो । देश र जनता हार्दै छन् ।
कुनै पनि पद्धतिको जीत भनेको जनताको सन्तुष्टि र अपनत्व हो । गणतन्त्रमा देश र जनताले जित्नुपर्ने हो । जनयुद्ध, जनआन्दोलनबाट परिवर्तन भयो, तर, जनताले निराशा भोग्नुपर्यो । राजनीतिक मुद्दाको किनारा लाग्यो भनियो, संक्रमणकालीन न्याय सम्पादन हुनसकेन, त्यसमाथि द्वन्द्व झन बढेर गएको छ ।
फेरि रक्तपातको श्रङ्खला सुरू भएको छ । नागरिक र पत्रकारसमेत असुरक्षित भएका छन् । गणतन्त्र नैतिकता र सिद्धान्तमा चल्ने वेष्ट मिनिष्टर पद्धति हो । नेपालमा यो पद्धति हाँक्ने पार्टीका नेताहरूमा न नैतिक धरातल बलियो देखियो, न सिद्धान्तको धरातल ।
भ्रष्टाचारमा नडामिएका कुनै पनि नेता नहुनु र नेताकै भाषामा यिनलाई जनताले ‘चोर आयो’ भन्ने स्थिति आउनु भनेको हरेक नेताको हार हो । यही हारमा देश र जनताले पनि हारे । राँके जुलुस, आन्दोलन, नाराबाजी देशैभरि फैलिएको छ । एकले अर्कोलाई बदनाम गर्ने साजिसमा घूसपैठ गराउँदा हिंसा बढेकोछ ।
हिंसा जसले गरे वा गराए पनि त्यो गलत हो । सरकारले फेरि पनि राजनीतिक भेदभाव गरेर जनु गणतन्त्रवादी नामको बैकक गरेर चूपचाप बसेका राजालाई दोषी देखाउने काम गरेको छ, यो फैलदो जनअसन्तोषको, बढ्दो हिंसाको ओखती हुँदै होइन ।
बुद्धिजीवीहरू भन्छन्– यो समय आरोप प्रत्योरोप गर्ने होइन, असन्तुष्टहरूसँग संवादको थालनी र जनअसन्तुष्टीको संवोधन गर्ने कार्य गर्नुपर्छ । नागरिकले संविधान संशोधन र असन्तुष्टिको समाधान कसरी चाहेका छन्, त्यसको डाइग्नोसि हुनेछ र रोग निको पार्न सकिनेछ ।
देश र जनताको आरोप छ, यो गणतन्त्रले देश र जनता खुशी छैनन्, केही काम गर्नसकेन । झ्वाट्ट हेर्दैमा देखिन्छ, नेतृत्व समृद्ध भए, भ्रष्टाचार बढ्यो, लोक पीडित छन् ।
संवादबाट थाहा हुनेछ, लोकको अपेक्षा के के हुन् ? लोकलाई यो नेतृत्वबाट के के चित्त बुझेन ? देशमा विदेशी हस्तक्षेप बढ्दो छ, देश भूराजनीतिको गोलचक्करमा फसिसक्यो । स्वार्थशिद्ध गर्न गम्भीर प्रकृति र प्रवृत्तिका सन्धि सम्झौता भएका छन् ।
योग्यले अवसर नपाउने र नातावाद अथवा लेनदेनमा जस्तोसुकै निर्णय भइरहेका देखिन्छन् । मुख्य सवाल जनताले अन्याय अनुभव गरेका छन् । यसरी चल्दैन, यही चालले बिबाद टुङ्गिदैन ।
संवाद गरौं, निकास निकालौं । जनमत र जनबलको अपमान नहुने प्रत्याभूति हुनैपर्छ । देश र जनताप्रति जवाफदेही हुने प्रतिबद्धताका साथअघि बढे संविधानमा आवश्यक सुधार सहित निकास निस्कने पक्का छ ।
बाहिर आन्दोलन, राजधानीमा राँके जुलुस
अदालतले पाँच दिन थुनामा राख्न आदेश दिएपछि आजसम्मका लागि राप्रपाका सांसद धवलशमशेर र उपाध्यक्ष रवीन्द्र मिश्र थुनामा छन् । यी दुवैको रिहाईको माग गर्दै राप्रपाले राजधानीमा राँके जुलुस र राजधानीबाहिर वीरगञ्ज, जनकपुर, बटुवल, भैरहवालगायतका क्षेत्रमा जुलुस निकालेको छ ।
सरकारले यी दुबैलाई राज्यविरूद्धको कसुरमा मुद्दा चलाउने तयारी थालेको बताइन्छ । राप्रपाका उपाध्यक्ष मिश्र र महामन्त्री तथा सांसद धवलशमशेरलाई रिहाईको माग गर्दै राप्रपाले कार्यकर्ता परिचालन गरेर आन्दोलन चर्काएको छ ।
संसदमै अध्यक्ष लिङ्देनले छाती ठोकेर म राजतन्त्रवादी भन्दै राजालाई थुनेर देखाउन चुनौति दिएका छन् । कमल थापाले पनि राजतन्त्रको वकालत गरेका खबर गोरखा एक्सप्रेसमा उल्लेख छ ।
३१ लाई उपद्रव गरेको र मिश्र र राणा सहितका ११ जनालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीको दावी छ । सांसद धवल शमशेरले थुनाबाटै भनेका छन्–आन्दोलनको गन्तव्य नजिक छ, सबैलाई भन्दिनु भन्ने सन्देश दिएका छन् ।
उनकै भाषामा– ‘नआत्तिनुस् गन्तव्य नजिक छ, म ठीक छु, सबैलाई भन्दिनु’ भन्दै सांसद धवलशमशेर राणाले काठमाडौं जिल्ला अदालत परिसरबाटै राप्रपा तथा सहयोगी सबैलाई उत्साहित पार्र्न खालको अभिव्यक्ति प्रचार प्रसार गरेका छन् ।




















प्रतिक्रिया