Logo

प्रमुख समाचार

‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन : प्रधानमन्त्री ओली



काठमाडौं । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल नहुने बताएका छन् ।

आज (शुक्रबार) एमाले रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले आफूपछि झन बलिया नेता आउने प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरु पार्टीमा आउनेछन् ।’

उनले थपे, ‘यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छौं । मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।’

ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको उल्लेख गर्दै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए । उनले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरूले एमालेलाई विभाजनको कोसिस गर्नेहरू असफल भएको टिप्पणी गरे ।

राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको उनले बताएका छन । प्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन चुनावसम्म सँगै जाने उल्लेख गर्दै भने, ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन ।’

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार ०५:५५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।