काठमाडौं । नेपालमा पछिल्ला दिनमा रेमिट्यान्सको प्रवाह बढेको बढ्यै छ ।
महिनामा एक खर्ब ६० अर्बसम्मको रेमिट्यान्स भित्रिएको भनेर नेपाल राष्ट्र बैंकले भनिरहेको छ । रेमिट्यान्स बढ्दा ढुकुटीमा विदेशी मुद्राको सञ्चितिको पनि थुप्रो लागेको छ ।
तर, रेमिट्यान्स किन यसरी बढिरहेको छ भनेर नेपाल राष्ट्र बैंकले खुलाउन भने सकेको छैन । तर, अर्थ विज्ञहरुले भने रेमिट्यान्सको यो वृद्धिलाई गम्भीर आशंकाको रुपमा हेर्ने गरेका छन् ।
राजनीतिक नेतृत्वदेखि कर्मचारी तहसम्ममा हुने अवैध आम्दानीलाई रेमिट्यान्सको रुपमा नेपाल भित्र्याउने खेल भईरहेको विज्ञहरुको विश्लेषण छ । पछिल्लो समय ठूल्ठूला डिल विदेशमा हुने र विदेशमै रकम कमिसन जम्मा गर्ने प्रचलन बढेकाले त्यो रकम नेपाल भित्र्याउन रेमिट्यान्स राम्रो बहाना बनेको हो कि भन्ने उनीहरुको आशंका छ ।
नेपालमै आर्जित अवैध आम्दानीलाई हुण्डीमार्फत विदेश पुर्याउने र उताबाट रेमिट्यान्सको रुपमा नेपाल भित्र्याएर ह्वाइट बनाउने धन्दाका कारण रेमिट्यान्स यसरी बढेको हो भन्ने विज्ञहरुको विश्लेषण छ ।
नेपालमा जुन रफ्तार र परिमाणमा रेमिट्यान्स भित्रिएको छ त्यो अनुसारको रकम बजारमा नआएका कारण पनि कालो धनलाई सेतो बनाउने खेला नै हो भन्ने पुष्टि हुन्छ । डेढ खर्ब रेमिट्यान्स भित्रिदा कम्तिमा ८० अर्ब रुपैयाँ बराबरको त रकम त उपभोग हुनुपर्ने र बजारमा आउनु पर्ने हो तर त्यो अनुसारको रकम बजारमा नआउने गरेको अध्ययनले देखाएको बताइन्छ ।
नेपाल आउने रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमै खर्च हुने हो तर रेमिट्यान्स अस्वभाविक रुपमा बढ्ने तर उपभोग नबढ्नु पछाडिको कारण चाहीँ कालो धनलाई सेतो बनाइएकाले नै हो भन्नेमा शंका नरहेको विज्ञहरुको ठहर छ ।
रेमिट्यान्समार्फत नेपाल भित्रिएको रकम पहिले शेयर बजारमा जाने र त्यहाँबाट हवाईट बनाएर बैंकिङ च्यानलमा लैजाँदा करबाट पनि जोगिने खेल भईरहेको विश्लेषण पनि गरिएको खबर नेपालीपत्रमा उल्लेख छ । घर जग्गामा रकम गएको भए घर जग्गाको कारोबार बढ़ने थियो । त्यसो हुन सकेको छैन ।
प्रतिक्रिया