Logo

प्रमुख समाचार

माओवादी र नेकपा एसबिच वैचारिक मतभेद बढ्दै



काठमाडौँ । समाजवादी मोर्चाका सहयात्री दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी पार्टी)बिच वैचारिक मतभेद बढ्दै गएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी विचार नेपालको भू–राजनीतिमा असान्दर्भिक भएको टिप्पणी गरेसँगै मतभेद सतहमा आएको हो । नेकपा स्थापना भएको ७७ वर्ष पुगेको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा भुसालले माओवादीबाट निकास आउने र क्रान्ति गर्ने कुरा बेकार भएको बताएका थिए ।

‘जबसम्म माओवादी रहन्छ, तबसम्म हाम्रो वास्तविकताको नजिकसम्म पनि आउँदैन । निकास दिने र क्रान्ति गर्ने कुरा बेकार हो । उसको तर्क हुन्छ– गणतन्त्र हामीले ल्याएको, त्यसको भोग पनि हामीले नै गर्ने हो । मधेस दगुर्दै छ, आँखा काठमाडौँमा छ । कुनै झ्यालमा बत्ती बल्छ कि भनेर त्यतैतिर हेरेको छ’, भुसालले भनेका थिए ।

पार्टीको नाम माओवादी राखे पनि त्यसको औचित्य पुष्टि गर्न नसकेको भुसालले आरोप लगाए । माओवादीको नीति एकातिर हेर्ने, अर्कोतिर कुरा गर्ने अवस्था रहेकाले कतै नपुग्ने उनको विश्लेषण थियो ।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रचण्डको बोली नै परीक्षण गर्ने बताएका थिए । अस्तिसम्म कांग्रेसको पिठ्युँमा बसेर कराइरहेका प्रचण्ड आजभोलि क्रान्तिका कुरा गर्न थालेको उनको भनाइ थियो ।

‘एउटा माओवादी पार्टी छ, जो अस्ति भर्खरसम्म कांग्रेसकै पिठ्यँुमा बसेर कराइरहेको थियो । अहिले बाहिर आएर अलिकति क्रान्तिकारी कुरा गर्न थालेका छन् । यो पनि परीक्षण गर्नुपर्ने कुरा छ,’ प्रचण्ड लक्षित खनालको टिप्पणी थियो ।

समाजवादी क्रान्तिको आधार तय गर्ने उद्देश्यसहित एउटै मोर्चामा रहेका दलहरूबिच देखिएको मतभेदबारे दुवै पार्टीका नेताहरूले प्रतिक्रिया दिएका छन् । माओवादीका नेताहरूले एकीकृत समाजवादीका नेताद्वारा लगाइएको आरोपको खण्डन गरेका छन् । एकीकृत समाजवादीका नेताहरूले भने बचाउ गरेका छन् ।

माओवादीका उपमहासचिव हरिबोल गजुरेलले एकीकृत समाजवादीका नेता भुसालको बोली र व्यवहारमा मेल नभएको बताए । ‘घनश्यामजी कस्तो व्यक्ति हुन् भन्ने कुरा एमाले विभाजनको बेला उहाँले खेलेको भूमिकाले प्रस्ट पार्छ । यसमा थप केही भन्नै पर्दैन । पार्टी विभाजन गर्न माधव नेपाललाई उक्साउनुभयो, अन्त्यमा साथ छोड्नुभयो’, उनले भने, ‘समग्रमा माओवादीले लिएको नीति ठिक छ । बिचमा हाम्रा पनि केही कमी–कमजोरी भए । त्यसमा गम्भीर समीक्षा गरेर अगाडि बढिसकेका छौँ । माओवादी विचारले नै देश सामन्ती राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्र बनाउन सम्भव भएको हो । यसमा हामी प्रस्ट छौँ ।’

वामपन्थी राजनीतिमा बौद्धिक छवि बनाएका नेता भुसालले पार्टी र नेतृत्वप्रति गरेको टिप्पणीबाट माओवादीका नेता तथा कार्यकर्ताहरू रुष्ट बनेका छन् ।

यद्यपि एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले भुसालको अभिव्यक्तिको बचाउ गरेका छन् । राष्ट्रिय एजेण्डाको हिसाबले माओवादीसँग सहकार्य भए पनि वैचारिक र सैद्धान्तिक हिसाबले कयौँ मतभेद रहेको उनले बताए ।

महासचिवले जुन अभिव्यक्ति दिनुभएको छ, ठिक छ । एजेण्डाका हिसाबले केही कुरामा समानता भए पनि वैचारिक, राजनीति, कार्यनीति, रणनीतिको हिसाबले फरक छन् । माओवादीसँग कैयौँ मतभेद भए पनि एजेण्डाका हिसाबले सहकार्य गरेका हौँ’, उनले भने ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । माघ १५ गते समाजवादी मोर्चाले काठमाडौँमा गरेको कार्यक्रममा प्रचण्ड र माधव नेपालबिच घोचपेच नै चलेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार ०७:००   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।