सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार चौतर्फी रुपमा असफल भइसकेको बताएका छन् । असफल भइसकेको सरकार अब ढल्न मात्रै बाँकी रहेको उनको भनाई छ ।
सिन्धुपाल्चोकको चौतारामा हिजो (बिहीबार) भएको वाईसिएल नेपालको पाचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन र व्यवस्था बचाउने सवाल, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, अन्तराष्ट्रिय सम्बन्ध र घरेलु समस्या जस्ता सबै विषयमा सरकार असफल भएको उनले टिप्पणी गरे ।
ओली सरकारकै कारण व्यवस्थामाथि प्रश्न उठाउँदै प्रतिगमनकारीहरु सतहमा आएको उनको ठहर थियो । माओवादी केन्द्रले २०८४ सालको चुनावसम्म सरकारमा नजाने भनेको स्मरण गर्दै उनले तर व्यवस्था माथीनै प्रश्न उठ्न थालेको सन्दर्भमा त्यसलाई बचाउन माओवादी सरकारमा जानुपर्ने अवस्था पनि आउन सक्ने उनले संकेत गरे ।
माओवादी केन्द्रका प्रभावशाली नेता तथा उपमहासचिव पुनले भने, ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बिचौलियाहरुले बनाएको पुष्टि भइसकेको छ । बिचौलियाहरु अहिले राष्ट्र बैक कब्जा गन अर्बको डिल गरिरहेका छन्, अहिलेसम्म गभर्नर नबन्नुको कारण यही हो ।
हामीले ८४ सालसम्म सरकारमा नजाने भनेको हो, तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ । त्यतिबेला ८४ पर्खेर बस्नु हुदैन, सरकारमा गएपनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र ८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ।’




















प्रतिक्रिया