Logo

प्रमुख समाचार

यसरी भईरहेको छ सत्ता परिवर्तनको गृहकार्य !



काठमाडौं । सतहमा राजावादीहरुको आन्दोलन सेलाएको जस्तो देखिए पनि भित्रभित्रै भने वर्तमान व्यवस्थाको विकल्पको मार्गचित्र तयार भईरहेको छ ।

आफूलाई गणतन्त्र र वर्तमान व्यवस्थाका पिता ठान्ने दलहरु नै यो व्यवस्था अब थेगेर राख्न सकिँदैन भन्ने निष्कर्षमा पुगिरहेको बेला देशी विदेशी शक्तिहरुले बिना रक्तपात यो व्यवस्थालाई विदा गराउने मार्गचित्र बनाएका बुझिएको छ । त्यसका लागि पछिल्ला दिनहरुमा भेटघाट र चरणवद्ध वार्ताहरु जारी रहेको पाइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यति बेला थाइल्याण्डको भ्रमणमा हुनुहुन्छ ।

स्वास्थ्य उपचारका लागि पारिवारिक भनिएको भ्रमण मूलतः राजनीतिक सौदाबाजीका लागि हो भन्ने बुझिएको छ । गत महिना विमस्टेक सम्मेलनका क्रममा प्रधानमन्त्री खड्कप्रसाद ओलीसंग भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ३५ मिनेट लामो कुराकानीमा मोदीले ओलीको सातो खाएका थिए।

ओली नाजवाफ भएर फर्किएपछि अहिले देउवा बैंकक पुगेका हुन् । बैंककमा भारतीय संस्थापनका प्रतिनिधिहरु र राजा ज्ञानेन्द्रका प्रतिनिधिहरुसंग देउवाको भेटघाट र संवाद भएको बुझिएको छ । भारत नेपालमा राजालाई कुनै न कुनै भूमिका दिलाउने र नेपाललाई हिन्दू राष्ट्र बनाउने एजेण्डा कार्यान्वयनमा अडिग मात्रै छैन त्यसका लागि निरन्तर दबाव पनि बढाईरहेको छ ।

प्रधानमन्त्री ओलीले मोदीसग सकारात्मक कुरा नगरेपछि देउवा अग्रसर भएका हुन भन्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले गत मंगलबार मात्रै पनि नेकपा गठनको वर्षगांठ कार्यक्रममै आफूले जेठसम्ममा छाड्नुपर्ने संकेत घुमाउरो तरिकाले गरेका थिए ।

आफूले खुट्टा छाड्ने वित्तिकै जेठसम्ममा आफ्नो हाइहाइ हुने भन्ने उनको बाक्यले उनी अब अन्तिम अवस्थामा छन् भन्ने देखाएको छ । त्यति मात्रै नभई उनले जसरी राजा ज्ञानेन्द्र र राजावादीहरुप्रति विष बमन गरेका छन् त्यसबाट पनि ओली कति दबावमा छन् भन्ने पुष्टि हुन्छ ।

त्यसो त पछिल्ला दिनहरुमा ओलीलाई भेट्नेहरुले उनी निकै ठूलो छटपटीमा रहेको बताउने गरेका छन् । विहान बोलेको कुरा साँझ फेर्ने र कति बेला के बोले भन्ने समेत मेसो नपाउने गरेको ओली निकटका व्यक्तिहरुले बताएका छन् ।

कतिपय एमालेहरुले नै राजा ज्ञानेन्द्रसँग संवादको प्रयास भईरहेको समेत बताउने गरेका छन् । अर्को रोचक कुरा के छ भने यसैबीचमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले राजा ज्ञानेन्द्रसँग दुई दुई पटक संवाद गरेको कुरा पनि यही बीचमा सार्वजनिक भएको छ ।

निकै गोप्य राखिएको सवाद सत्ता परिवर्तनपछिको अन्तरिम सरकार संचालनका सम्बन्धमा केन्द्रीत रहेको भन्ने स्रोतहरुको दाबी छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको समूहले मध्यस्थता गरी प्रधानन्यायाधीश राउतले राजा ज्ञानेन्द्रसँग भेटेको भन्ने चर्चा रहेको छ ।

राजा ज्ञानेन्द्रसंगको संवादपछि प्रधानन्यायाधीश राउत भारत भ्रमणमा समेत जानुको पछाडिको कारण पनि त्यही भएको उच्च स्रोतको दाबी छ । यद्यपी सर्वोच्च अदालतले भने प्रधानन्यायाधीले राजा ज्ञानेन्द्र संग भेटेको समाचारको खण्डन गरेको छ ।

कतिपयले त भित्रभित्रै कल्याण श्रेष्ठको समूहले नयाँ संविधानको ड्राफ्ट समेत गरिरहेको दाबी गरेका छन् । निकट भविश्यमा सर्वोच्च अदालतको न्यायाधीश बन्ने तर्खरमा रहेका अरुण पौडेल नामका कानून व्यावसायी समेत नयाँ संविधान ड्राफ्टमा सक्रिय रहेको स्रोतको दाबी छ ।

प्रधानन्यायाधीश राउतको राजा ज्ञानेन्द्रसँगको भेटवार्ता भएको दाबी र कल्याण श्रेष्ठहरुको समूह नयाँ संविधान ड्राफ्ट जुटिरहेको सूचना कांग्रेस सभापति शेरबहादुर देउवाकहा पुगेको र देउवा मार्फत प्रधानमन्त्री खड्कप्रसाद ओली कहाँ पनि पुगेको पनि बुझिएको छ ।

तर, उनीहरु प्रधानन्यायाधीश राउतलाई केही गरिहाल्न सक्ने अवस्थामा छैनन किनकी त्यसको स्वतन्त्र पुष्टि हने आधार फेला पार्न उनीहरुले पनि सकेका छैनन् । बर्तमान सरकार त कुनै पनि बेला ढल्ने निश्चित जस्तै छ ।

किनकी यो सरकार कतिसम्म निकम्मा भईसक्यो भन्ने कुरा शिक्षक आन्दोलन र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति समेत गर्न नसकेको प्रकरणबाट प्रष्ट भईसकेको छ । आम कांग्रेसीहरुले समेत अब ओलीलाई बोक्न भनेको आफ्नै काँध कुहाउनु हो भनिरहेका खबर नेपालीपत्रमा उल्लेख छ । तर, अब ओलीको बहिर्गमनले मात्रै अहिलेको संकटको समाधान नहुने निश्चित छ । त्यसैले बर्तमान राजनीतिक ब्यवस्था र संविधानको पतन पनि ओलीसंग संगै हुनुपर्छ भन्ने तालिकामा काम भईरहेको हो ।

ओलीले यसको संकेत पाएरै पछिल्ला दिनहरुमा उनी बर्बराउन थालेका हुन । यत्ति नै बेला ओली बाहेक कोही पनि यो ब्यवस्था बचाईराख्नु पर्छ भनेर भिड्ने पक्षमा देखिएका छैनन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार २१:५९   :  बजे

4.623k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।