Logo

प्रमुख समाचार

कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमा गोली लागेको जस्तो गर्नुभयो : योगेश भट्टराई



काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा मुटुमा गोली लागेको जस्तो गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

उनले पूर्वप्रधानमन्त्री प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई माओवादीले किन उचालेको भन्दै प्रश्न गरे। उनले प्रचण्डलाई बहालवाला प्रधानसेनापति र मुख्यसचिवलाई आफैँले हटाएको भन्दै आफूले गरेको बेथितितिर फर्केर हेर्न आग्रह गरे ।

उनले भने,‘ प्रचण्डलाई भन्न चाहन्छु, तपाईँले त प्रधानसेनापति नै हटाउनुभएको थियो त । एकपटक सम्झिनुस् त तपाईँले कसरी हटाउनुभएको थियो प्रधानसेनापतिलाई । अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो र अर्को मुख्यसचिव ल्याउनुभयो तपाईँले । यस्ता काम त गर्नुभयो तपाईँले । अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठुलो चिन्ता किन गरिरहनुभएको छ ? मुटुमै गोली लागेजस्तो किन भएको छ? के भएको ।’

सांसद भट्टराईले सहसचिव लेभलको कर्मचारीको सरकारसँग ट्युनिङ नमिलेकाले सरकारले उसको एउटा बन्दोबस्त गरेको बताए । उनले कुलमान हटाउनु प्रधानसेनापति हटाएजस्तो कुरा नभएको बताए । उनले भने, ‘मुख्यसचिवलाई जगेडामा लगे राखेजस्तो होइन । यस्ता खालका बेथिति पर्याप्त भएका छन्, एक पटक सम्झिनु होला । तपाईँका पालामा के-के भएका थिए ।’

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार ०९:००   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।