काठमाडौं । कश्मीरको पहलगाम पर्यटकीय केन्द्रमा वैशाख ९ गते आतंकवादीले २६ जना हिन्दु युवाको हत्या गरेपछि सुरु भएको भारत–पाकिस्तान ‘नोकझोक’ मंगलबार रातीदेखि आपसी गोलबारीमा परिणत भएको छ ।
आपसी गोलाबारीमा दुर्व तर्फका गरी झण्डै तीन दर्जन नागरिकको मृत्यु भएपछि छिमेकी मुलुकहरुमा चिन्ता र विश्व समुदायको चासो बढेको छ । यो प्रकरणलाई लिएर संयुक्त राष्ट्र संघ लगायत विश्वका विभिन्न राष्ट्रहरुले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।
मंगलबार राती विवादित सिमामा पाकिस्तानतर्फ भारतले हवाई आक्रमण गर्दा २६ जना पाकिस्तानी र पाकिस्तानी सेनाको आक्रमणमा तीन जना भारतीयको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले उल्लेख गरेका छन् ।
विवादित क्षेत्रको भारतीय क्षेत्रमा भएको घातक आक्रमणका लागि इस्लामावादलाई दोष दिएको केही दिनपछि नयाँ दिल्लीले पाकिस्तान प्रशासित काश्मीर र पञ्जाब राज्यका नौ स्थानमा आतंकवादी शिविरहरुमा सटीक आक्रमण गरेको घोषणा गरेको थियो ।
मंगलबार राती पाकिस्तानमाथिको आक्रमण पछि भारतीय सेनाले न्याय पूरा भएको छ प्रतिक्रिया दिएको छ भने पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले हिसाब चुक्ता गर्न धेरै समय नलाग्ने चेतावनी दिएका छन् ।
उनीहरुको आपसी प्रतिक्रियाले विश्व राजनीतिलाई नै तरंगीत बनाउन पुगेको छ । दक्षिण एसियाका आणविक शक्ति सम्पन्न राष्ट्र भारत र पाकिस्तानबीचको दीर्घकालीन द्वन्द्व र पछिल्लो युद्धले दक्षिण एसियाको क्षेत्रीय अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने भएका कारण नेपाल यो प्रकरणले चिन्तित हुनु अस्वभाविक होइन ।
नेपालले आफ्नो अधिकांश व्यापारिक गतिविधि भारतको बन्दरगाह र सीमा नाकाहरु मर्फत गर्ने हुँदा भारत–पाकिस्तान तनावले व्यापारिक आपूर्तिमा प्रत्यक्ष असर गर्ने जानकारहरुको भनाई छ ।
आयत निर्यात अवरोध भारतीय बन्दरगाह र सिमानामा सुरक्षा कडाइ हुँदा, नेपालले कच्चा पदार्थ, इन्धन र अत्यावश्यक सामग्रीको आपूर्तिमा कठिनाइ हुनुका साथै भारतीय रुपैयाँको अवमूल्यनले नेपाली रुपैयाँमा पनि प्रत्यक्ष प्रभाव पार्न सक्ने उनीहरु बताउँछन् ।
त्यसबाहेक पर्यटन व्यवसाय, बैदेशिक लगानीका साथै वैदेशिक रोजगारीमा समेत यसको असर पर्ने उनीहरुको तर्क छ । यही भएका कारण पनि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारत–पाकिस्तान बिग्रदो सम्बन्धका विषयमा महत्व दिएरै आफ्नो धारणा व्यक्त गरेको बुझ्न कठिन छैन ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्न सक्ने प्रभावबारे सचेत रहनु पर्नेमा जोड दिएका खबर रहस्यमा उल्लेख छ ।
बैठकमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद एनपी साउद, सञ्जयकुमार गौतम र अमरेश कुमार सिंहले यो विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।
भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरुका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउनु पर्ने उनीहरुको भनाइ थियो ।




















प्रतिक्रिया