काठमाडौँ । नेपाली कांग्रेसका ६ पूर्वपदाधिकारीहरू पुन: भेट गरेका छन् । पार्टीको आसन्न महाधिवेशन केन्द्रित गर्न नेताहरू पूर्वउपसभापति गोपानमान श्रेष्ठको अपार्टमेन्टमा भेट गरेका हुन् ।
आज आइतबार नेताहरू श्रेष्ठ, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा.प्रकाशशरण महतबीच भेट भएको हो ।
‘नेपाली कांग्रेसका प्रभावशाली पूर्वपदाधिकारीहरू पार्टीको भावी अधिवेशन र वर्तमान राजनीतिक विषयमा छलफल भएको छ’ कांग्रेसका एक नेताले भने । सानेपाको साम्स अपार्टमा भएको छलफलमा नेताहरूले आगामी महाधिवेशनमा कसरी सहकार्य भन्नेबारे छलफल गरेको बताइएको छ ।
नेता सिटौलाले छलफल एकघण्टासम्म चलेको बताए । ‘देशको समसामियक राजनीतिक र पार्टीको आन्तरिक राजनीतिबारे छलफल भयो। पार्टीको क्रियाशील नवीकरण चलिरहेको छ ।
यो तोकिएको समयमा किन पूरा हुने अवस्था भएन भन्नेबारे कुरा भयो,’ उनले नेपालखबरसँग भने, ‘हामी छलफलमा बसेका पूर्वपदाधिकारीहरू चाहन्छौँ- पार्टीभित्र वृहत एकता होस्, देश र जनतासामू आएका चुनौती सामना गर्न पार्टी समक्षम होस् । यसबारे सभापतिलाई भेटेर ध्यानाकर्षण गराउने भन्ने भएको छ । समय मिलाएर जान्छौँ ।’
कांग्रेसमा पार्टीको १५औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिमबाट को सभापति बन्ने भन्ने विषय चासोका साथ हेरिँदै आएको छ । देउवा तेस्रोपटक सभापति बन्न नपाउने विधानको व्यवस्थाअनुसार उनले आफ्नो समूहबाट कसलाई सभापतिको उम्मेदवार बनाउँछन् भन्ने टुंगो छैन। देउवा यसमा मौन छन् ।
देउवा मौन बसिरहेपछि गत फागुन २ गते संस्थापन समूहमा रहेका ११ जना नेताले देउवाकै निवास बूढानीलकण्ठमा भेटेर सभापतिको उम्मेदवार तोक्न आग्रह गरेका थिए । नेताहरू आज पनि यसै विषयमा छलफलमा जुटेको बताइएको छ ।
प्रतिक्रिया