काठमाडौं । मध्यपहाडी लोकमार्ग अभियानका कममा डडेलधुरा पुगेका विपक्षी नेता पुष्पकमल दाहालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरी उत्साहसाथ प्रतिनिधिका रुपमा जनार्दन शर्मालाई देउवा निवास बुढानीलकण्ठमा पठाएपछि राजनीतिक वृत्तमा वर्तमान सत्ता गठबन्धन बारेमा आशंका गर्नेहरु सल्बलाएका थिए ।
कांग्रेसको शेखर कोइराला पक्षलाई उचाल्दै गरेका प्रचण्डले सरकारको नीति तथा कार्यकममाथि संसदमा छलफल भइरहेको अनि आगामी वर्षको बजेट निर्माण प्रक्रिया चलिरहेको बेला सरकार ढलाइहाल्न सकिन्छ कि भनेर देउवाको कानमा चिनी छर्कने प्रयत्न स्वरुप यो फोन र जनार्दनलाई बुढानीलकण्ठमा वातांका लागि पठाए । तर, देउवाले उनलाई हिस्स बनाएर फर्काइदिए । सरकारविरुद्ध आक्रोश पोखिरहेको माओवादीले जेठ २ गते सत्तारुढ दलका शीर्ष नेता देउवासँग छलफल गर्यो ।
माओवादी अध्यक्ष प्रचण्डले टेलिफोनमा र उपमहासचिव जनार्दन शर्माले निवासमै पुगेर कांग्रेस सभापति शेरबहादुर देउवाको मुड बुझे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेसकै केही नेताहरू असन्तुष्ट रहेको बेला देउवासँग माओवादी नेताहरूले राजनीतिक छलफल गरेका हुन् ।
आफू देउवाको गृहजिल्ला आएको जानकारी दिन प्रचण्डले उनलाई गत शुक्रवार फोन गरेका थिए । गठबन्धनबाट बाहिरिएपछि औपचारिक कार्यक्रमबाहेक देउवा र प्रचण्डबीच छलफल भएको थिएन । तर, प्रचण्डसँग फोन संवाद भएको तीन घण्टापछि देउवा भेट्न माओवादीका उपमहासचिव जनार्दन शर्मा बूढानीलकण्ठ पुगे । उनीहरूबीच एक घण्टाभन्दा लामो समय छलफल भयो ।
एमाले नेतृत्वको सरकारसँग कांग्रेसका शेखर-गगन मार्का नेताले असन्तुष्टि जनाइरहेको बेलामा यो भेटले धेरैको ध्यान खिच्यो । तर, भेटमा सभापति देउवाले कांग्रेस-एमाले गठबन्धन तलमाथि नहुने स्पष्ट पारिदिए ।
पछिल्लो राजनीतिक अवस्थाबाट छलफल थालेका देउवा-शर्माले गठबन्धनको भविष्यसम्मका विषयमा कुराकानी गरेका थिए । यस्तै, संक्रमणकालीन न्याय टुंगो लगाउन गठन गरिएको आयोगका विषयमा पनि दुई नेताबीच कुरा भयो ।
सुरूमै जनार्दनले सोधे- ‘ठूला दुई दल मिले पनि सरकारले काम गर्न सकेन, आम मानिस झन् निराश भए ।’ ‘सरकारले गर्दैछ। नयाँ कार्यक्रम ल्याउला । बजेट आउँदैछ । भएन भन्न पो सजिलो छ त, एकै पटक सबै कुरा गर्न गाह्रै हुन्छ,’ देउवाको जवाफ थियो ।
यसपछि जनार्दनले गठबन्धनको प्रसंग उठाए । देउवाले स्पष्टसँग आफूले एमालेसँग गरेको सहमति नतोड्ने अडान दोहोऱ्याएको शर्माले आफूनिकट नेताहरूलाई ब्रिफिङ गरेका छन् । ‘धौका दिने कुरा नसोचौं, मैले धोका दिएको छैन ।
धोका दिने मेरो बानी पनि होइन,’ देउवाको जवाफ उद्दत गर्दै शर्माले आफूनिकट नेतासँग भनेका छन्, ‘मैले प्रचण्डलाई पनि धोका दिएको होइन । प्रचण्डले आफैँ छोडेर गएका हुन् । कांग्रेस-माओवादी मिलेर सरकार चलेकै थियो तर प्रचण्ड नै छोडेर एमालेसँग मिल्न गए ।
म केपी ओलीलाई पनि धोका दिन्न, उनी आफै गए भने मैले के भन्न सक्छु र !’ माओवादीका शर्माले कांग्रेस सभापति देउवालाई भेटेर एमालेलाई इन्गेज गराउन खोजेको कांग्रेसकै केही नेताको बुझाइ छ।
देउवा भने गठबन्धनको विकल्प खोज्न तयार नभएको सांसद ईश्वरी न्यौपाने बताउँछिन् । उनका अनुसार कांग्रेस-एमालेबीच गठबन्धनमा धेरै कुरा मिलेको छैन । तर, यही मेसोमा सरकारकै विकल्प खोज्न नहुनेमा देउवा अडिग छन् ।
‘अहिले गज्याङगुजुङ नै छ । बाहिर त्यति राम्रो देखिएको छैन । गठबन्धनको सरकारमा यस्तो हुँदो रहेछ,’ न्यौपानेले भनिन् । यसो त गभर्नरको विषयले एमाले र प्रधानमन्त्री ओलीसँग कांग्रेस सशंकित छ । यस सम्बन्धमा संसदीय दलको बैठकमा शेखर कोइरालाले प्रश्न उठाए ।
तर, सभापति देउवाले त्यसबारे केही जवाफ दिएनन् । त्यही मेसोमा माओवादी अध्यक्षसँग फोनमा कुराकानी र उपमहासचिव शर्मा निवासमै पुगेर भेट्नुमा केही न केही पकाउन प्रयास भइरहेको नेताहरू बताउँछन् । तर, देउवाका सहयोगी भानु देउवाले जनार्दन शर्मासँग संक्रमणकालीन न्याय सम्बन्धी कुरा भएको बताए ।
सरकारले बेपत्ता नागरिक खोजबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा गरेको नियुक्तिलाई नमान्ने भन्दै द्वन्द्वपीडितहरूले विरोध गरेपछि मिलाउन देउवाले कुरा गरेको भानुको भनाइ छ ।
‘उहाँसँग भेट्ने बारेमा पहिलेदेखि कुरा भइरहेको थियो । अस्ति टीआरसीको बारेमा कुरा भएको हो,’भानुले भने, ‘टीआरसी मान्दैनौँ भन्ने तपाईंहरूसँग बीचमा एउटा समझदारी गरेर आयोग गठन भयो तर द्वन्द्वपीडितले फेरि विरोध गर्न थाले, यताबाट हाम्रा मान्छेलाई हामी सम्झाउँछौं, उताबाट तपाईंहरूकालाई तपाई सम्झाउनुस् भनेर सभापतिज्यूले भन्नुभयो करेन्ट साप्ताहिकमा समाचार छ ।’
कांग्रेस नेताहरू सरकारको कार्यशैलीप्रति असन्तुष्टि भए पनि गठबन्धन तलमाथि नहुने बताउँछन् । ‘सरकारका विषयलाई लिएर, प्रधानमन्त्रीको कार्यशैली लगायतका कारण हाम्रो पार्टीभित्र असन्तुष्टि व्यापकै छ । तर, विकल्प खोजिएको छैन,’ कांग्रेसका अर्का नेता भन्छन्, ‘न हाम्रा सभापति सरकारको प्रतिवाद गर्न सक्नुहुन्छ, न त रक्षा गर्नसक्ने अवस्थामा हुनुहुन्छ ।’
गठबन्धनका विषयमा देउवा अडिग भए पनि कांग्रेस नेताहरूले असन्तुष्टि पोख्ने क्रम रोकिएको छैन । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका थिए ।
प्रतिक्रिया