काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचार प्रकरणको पृष्ठभूमिमा गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले छानबिनको मार्गप्रशस्त गर्न राजीनामा अपरिहार्य रहेको धारणा राखे ।
उनले विगतमा पनि केही मन्त्रीहरूले जिम्मेवारीबाट अलग भएर छानबिनमा सहयोग गरेको स्मरण गराउँदै मन्त्री लेखकले यस्तै उदाहरण पेश गर्नुपर्ने बताए । “राजीनामा दिएर उहाँले आफ्नै नैतिकता बलियो बनाउन सक्नुहुन्छ,” कोइरालाले भने ।
संवैधानिक निकायहरू सचिवहरूको ‘रिटायरमेन्ट क्लब’ जस्तै बन्दै गएकाले कर्मचारीहरूको लागि ‘कुलिङ पिरियड’ आवश्यक रहेको उनको तर्क थियो । साथै, लोकतन्त्रप्रति विश्वास राख्ने दलहरू जनमतसंग्रहबाट नडराउनुपर्ने उनले बताए। कांग्रेस, एमाले र माओवादी मिलेर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाका बारेमा जनमतसंग्रह गराउन सक्ने उनले जिकिर गरे ।
डा. कोइरालाले आगामी मंसिर (२०८२) भित्र नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान दोहोर्याउँदै कार्यकर्ताहरूलाई त्यसका लागि दबाब दिन आह्वान गरे ।
प्रतिक्रिया