काठमाडौं । भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आज बल्ल टिप्पणी गरेका छन् ।
शनिबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले पिपडियामाईस्थानस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा लेखकले सो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिरसमेत गरेका छन । उनले यो पनि भने कि भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिबाट नै सन्यास लिने पनि घोषणा गरे ।
‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। यो कहाँबाट, कसरी, किन भइरहेको छ भन्ने खोजीराखेको थिएँ,’ उनले भने, ‘यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु, आजै काठमाडौँ गइ सके पछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ। दुई चार दिनमा आफैँ पनि केही कुरा बोल्छु।’ गृहमन्त्री लेखकले आफ्नो कारणले कांग्रेसको शिर झुक्न नदिने उल्लेख गरेका छन ।
भिजिट भिषा प्रकरणमा मन्त्रालय नेतृत्व संलग्न छैन : गृह मन्त्रालय
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नभएको गृह मन्त्रालयले दावी गरेको छ।
शनिवार, गृह मन्त्रालयका सह सचिव छवि रिजालले एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको कुनै संलग्नता नरहेको जिकिर गरेको हो ।
‘विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ,’ सहसचिव रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं।’
शनिवार धनुषाको एक कार्यक्रममा गृह मन्त्री रमेश लेखकले बिज्ञप्ति जारी हुने जनाएको केही समय पछि यो बिज्ञप्ति आएको हो ।
‘बिषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं । मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको छ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने विज्ञप्तिमा लेखिएको छ । त्यस्तै आयोगबाट हुने छानविन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने दाबी गृह मन्त्रालयले गरेको छ ।
प्रतिक्रिया