काठमाडौं । नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी रूपमा उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । पार्टीको च्यासलस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले देशभरका सबै पालिकामा तथा काठमाडौं उपत्यकामा विशेष कार्यक्रमसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार काठमाडौं उपत्यकामा सांस्कृतिक झाँकीसहितको कार्यक्रम आयोजना हुनेछ, जसको संयोजन नेपाल जनसांस्कृतिक महासंघले गर्नेछ ।
महासचिव पोखरेलले पार्टी गणतन्त्रलाई सुदृढ र सशक्त बनाउने अभियानमा क्रियाशील रहेको बताउँदै गणतन्त्र र लोकतान्त्रिक व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधि एमालेलाई स्वीकार्य नहुने स्पष्ट पारे । उनका अनुसार गणतन्त्र स्थापनालाई जनताको उत्सवका रूपमा मनाउनु नै एमालेको मूल उद्देश्य हो ।
त्यस्तै, पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणप्रति पनि टिप्पणी गर्दै, “भण्डारी पूर्वराष्ट्रपति मात्र नभई एमाले आन्दोलनकी नेतृ पनि हुन्, त्यसैले उनको भ्रमण टोलीमा एमाले नेताहरूको सहभागिता स्वाभाविक हो,” भन्ने धारणा राखे ।




















प्रतिक्रिया