Logo

गण्डकी प्रदेश

नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन: अध्यक्ष प्रचण्ड



गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र पुनःस्थापना असम्भव भइसकेको स्पष्ट पारेका छन्।

गोरखाको भीमसेन थापा गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले राजावादी आन्दोलनप्रति संकेत गर्दै २१औं शताब्दीमा निरङ्कुशता र वंशवाद जनताले स्वीकार नगर्ने बताए।

“तीनकुने घटनापछि एक पात्रलाई पछाडि राखेर अर्को पात्रलाई सिङ्गारपटार गरेर अगाडि ल्याउने प्रयास भइरहेको छ,” अध्यक्ष दाहालले भने, “१५ गतेबाट फेरि आन्दोलन गर्ने भनिएको छ, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग रहनुपर्छ।”

उनले नेपाली जनताले दशकौं लामो संघर्ष, जनयुद्ध र आन्दोलनको बलमा ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरे। “जनताले प्राप्त गरेको परिवर्तन गुमाउन दिनेछैनौं,” अध्यक्ष दाहालको भनाइ थियो।

सरकारप्रति खबरदारी

अध्यक्ष दाहालले जनतामा निराशा बढाउने काम नगर्न सरकारलाई बारम्बार खबरदारी गर्दै आएको बताए। गणतन्त्र आएपछि देशमा गुणात्मक सुधार देखिएको उल्लेख गर्दै उनले अहिलेको व्यवस्था थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए।

उनले भने, “शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र स्थापनामा कांग्रेस र माओवादीबीच ऐतिहासिक सहकार्य भएको हो। आज पनि शान्ति र स्थायित्वका लागि मिलेर जानुको विकल्प छैन।”

आन्दोलन र राजनीतिक परिस्थिति

हालै बढ्दै गएको राजावादी गतिविधिहरूलाई लिएर माओवादी केन्द्रले चासो व्यक्त गर्दै आएको छ। अध्यक्ष दाहालले आन्दोलनको नाममा जनताको मनोभावनालाई भडकाउने प्रयास भइरहेका भन्दै सर्तक रहनुपर्ने आवश्यकता औंल्याए।

राजनीतिक अस्थिरता, सरकारको कार्यशैलीप्रति असन्तोष र भ्रष्टाचारका कारण जनतामा असन्तुष्टि बढेको बेला राजसंस्थाको नारा उठाउनेहरू सक्रिय बन्दै गएको देखिएको छ। यस सन्दर्भमा प्रचण्डको अभिव्यक्ति सशक्त सन्देशका रूपमा आएको छ।

अध्यक्ष दाहालको भनाइ अनुसार नेपालमा फेरि राजतन्त्र फर्किने सम्भावना छैन र यसप्रति जनताले समर्थन नगर्ने स्पष्ट संकेत दिइसकेका छन्। वर्तमान सङ्घीय लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँदै, जनताको भावना अनुसार देशलाई अगाडि बढाउनु नै अहिलेको प्रमुख आवश्यकता भएको उनले दोहोऱ्याए।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार ०९:००   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।