काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यही जेठ १५ गते पार्टीले मनाउन लागेको गणतन्त्र उत्सव कुनै पनि समूह वा विचारप्रति लक्षित नभएको स्पष्ट पारेका छन्।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पार्टीका विभागीय सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र नेपाली जनताको सबैभन्दा ठूलो उपलब्धि भएकाले त्यसलाई जनताको विजयको उत्सवका रूपमा मनाउन लागिएको बताएका हुन्।
उनले भने, “जनताको बलिदानी र संघर्षबाट प्राप्त यो लोकतान्त्रिक गणतन्त्र जोगाउन हामी सबैको दायित्व हो। यही अनुभूति दिलाउनका लागि एमालेले जेठ १५ गते झाँकी र कार्यक्रमसहित उत्सव मनाउने तयारी गरेको हो।”
विद्यालय शिक्षामा गणतन्त्र समावेश गर्न सुझाव
महासचिव पोखरेलले लोकतन्त्र र गणतन्त्रको महत्त्व आगामी पुस्तालाई बुझाउन विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार गणतन्त्र प्राप्तिमा भएका बलिदानी, संघर्ष र परिवर्तनका कथा आजका युवाहरूलाई थाहा छैन, त्यसैले शिक्षामै यसको समावेश आवश्यक छ।
उनले भने, “गणतन्त्रपछि जन्मिएका नयाँ पुस्ताले यो व्यवस्था सजिलै आएको जस्तो नबुझून्, उनीहरूले बुझून् कि यो लाखौंको बलिदानीबाट आएको हो। त्यसैले पाठ्यक्रममै समेट्नुपर्छ।”
एमालेमाथि नियोजित प्रहार भएको आरोप
कार्यक्रममा पोखरेलले एमालेमाथि नियोजित ढंगले प्रहार भइरहेको आरोप पनि लगाए। “राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्ने मूल शक्ति एमाले हो,” उनले भने, “त्यही कारणले सबैभन्दा धेरै आरोप र हमला एमालेमाथि हुने गरेको छ।”
उनले एमालेले सदैव लोकतन्त्र, गणतन्त्र र स्वाभिमानी राष्ट्रका पक्षमा काम गर्दै आएको बताउँदै वर्तमान राजनीतिक अवस्थालाई स्थायित्वमा ल्याउन सबै दल गम्भीर हुनुपर्नेमा जोड दिए।
महासचिव पोखरेलको भनाइ अनुसार, गणतन्त्र उत्सव कुनै पनि दल, समूह वा आन्दोलनको प्रतिरोध नभएर जनताको साझा उत्सव हो। यसलाई राजनीतिक रंग दिइनुहँुदैन भन्ने एमालेको धारणा रहेको उनले स्पष्ट पारे।
उनले लोकतन्त्रप्रति आस्था राख्ने सबै शक्ति, पार्टी र नागरिक मिलेर जनताले कमाएको यो उपलब्धिलाई जोगाउने साझा अभियानमा सहभागी हुनुपर्ने पनि आह्वान गरे।




















प्रतिक्रिया