काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र गतिविधिप्रति कडा आपत्ति जनाएका छन्। साथै, पार्टी सभापति शेरबहादुर देउवालाई आफूलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन्।
मंगलबार विराटनगरमा नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री ओलीले “जेठ १५ गते काठमाडौं एमालेको कब्जामा हुनुपर्छ” भन्ने अभिव्यक्तिको आलोचना गरे। उनले यस्तो गैरजिम्मेवार अभिव्यक्तिप्रति कांग्रेस मौन बस्दै आएकोप्रति असन्तुष्टि जनाए।
उनले भने, “प्रधानमन्त्री केपी ओलीले जे–जे गरे पनि कांग्रेसले छुट दिइरहने स्थिति किन आइलाग्यो? यस्तो बाध्यता किन?”
देउवाको बैठकप्रति असन्तुष्टि
नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकप्रति पनि गुनासो पोखे। उनले भने, “देश निर्माणको एजेन्डा उठ्नुपर्ने त्यस्तो बैठकमा मेरो बारेमा मात्रै कुरा काटेर समय बिताइयो।”
उनका अनुसार, प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल हुनुको सट्टा आफू, डा. सुनिल शर्मा र राजेन्द्र बजगाईँको अभिव्यक्तिप्रति मात्र ध्यान केन्द्रित गरिएको थियो।
खुला चुनौती: कारबाही गरेर देखाऊ
बैठकमा प्रधानमन्त्री र सरकारको आलोचना गरेको भन्दै आफूहरूलाई स्पष्टीकरण सोध्ने निष्कर्ष निकालिएकोप्रति पनि कोइरालाले आपत्ति जनाए। उनले स्पष्ट रूपमा भने, “मलाई कारबाही गरेर देखाउनुस् सभापति देउवा, म तयार छु।”
उनको भनाइमा, पार्टीभित्रको स्वस्थ आलोचना दबाउने प्रवृत्ति गलत हो, र लोकतान्त्रिक दलभित्र आलोचना सुन्ने संस्कार हुनुपर्छ।
डा. शेखर कोइरालाको अभिव्यक्तिले कांग्रेसभित्र आन्तरिक मतभेद सतहमा आएको देखिएको छ। एकातर्फ, सत्ता पक्ष र प्रधानमन्त्रीको कटु आलोचना गर्नेहरूलाई पार्टीले कारबाही गर्ने प्रयास गर्दैछ भने अर्कोतर्फ ती नेताहरू नेतृत्वप्रति असन्तुष्टि र चुनौतीपूर्ण अभिव्यक्ति दिँदैछन्। आगामी दिनमा कांग्रेसभित्रको यो तनाव थप चुलिन सक्ने संकेत देखिएको छ।




















प्रतिक्रिया