Logo

प्रमुख समाचार

ओलीलाई ज्ञानेन्द्र शाहीको चेतावनी : “काठमाडौं कब्जा देखियो, अब भाग्न हेलिकप्टर तयार राख्नु”



काठमाडौं । राजा पुनर्स्थापनाको माग गर्दै जारी अनिश्चितकालीन आन्दोलनका क्रममा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा टिप्पणी गर्दै नवीन समझदारीमा नआए भाग्न हेलिकप्टर तयार गर्न चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंको बिजुलीबजारमा आन्दोलनकारीलाई सम्बोधन गर्दै शाहीले प्रधानमन्त्री ओलीले काठमाडौं कब्जा गर्ने दाबीको व्यंग्यात्मक टिप्पणी गर्दै भने, “तपाईँले हिजो काठमाडौं कब्जा गर्ने भन्नुभएको थियो, तर तपाईँको कब्जा त हिजै देखियो – ४ सय जना मान्छे पनि जम्मा गर्न नसक्ने मान्छे प्रधानमन्त्री हुन लायक छैन।”

शाहीले आफूहरूद्वारा सुरु गरिएको आन्दोलन ‘सुरुआत’ मात्रै भएको उल्लेख गर्दै यसलाई ‘राष्ट्रवादीहरूको अन्तिम लडाइँ’ का रूपमा चित्रण गरे। उनका अनुसार यो आन्दोलन केवल राजसंस्थाको पुनर्स्थापना नभई भ्रष्टाचार, कुशासन र विदेशी हस्तक्षेपविरुद्धको हो।

नवीन राजनीतिक समझदारीको माग

शाहीले प्रधानमन्त्री ओली, सत्तारूढ गठबन्धन तथा प्रमुख दलहरूलाई समयमै नयाँ राजनीतिक समझदारीको बाटो रोज्न सुझाव दिँदै चेतावनीको भाषामा भने, “यदि समयमै जनताको आवाज नसुनियो भने, भाग्न हेलिकप्टर तयार पार्नुपर्छ।”

उनले देशमा मौलाउँदै गएको अस्थिरता, जनविरोधी शासन र भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न अहिलेको आन्दोलन निर्णायक हुने जिकिर गरे। “अब दलहरू र नेताहरूले जनताको सन्देश बुझ्नुपर्छ, नत्र जनता आफैँ निर्णय गर्छन्,” शाहीले चेतावनी दिए।

राष्ट्रिय झन्डाको आन्दोलन

शाहीले आफूहरूको आन्दोलन कुनै दल वा व्यक्ति लक्षित नभएको तर देश र राष्ट्रको अस्तित्व जोगाउने अभियान भएको बताए। उनले भने, “यो आन्दोलन राष्ट्रिय झन्डाको आन्दोलन हो। यो आन्दोलनले अब देशलाई नयाँ दिशा दिनेछ। भ्रष्टाचारीहरूको अन्त्य हुनेछ।”

राप्रपाले अनिश्चितकालीन आन्दोलनको क्रममा राजधानीमा दैनिक रूपमा प्रदर्शन, सभा र जनसंपर्क बढाइरहेको छ। राजसंस्थाको बहाली, हिन्दू राष्ट्र र नवीन राजनीतिक सहमतिको मागसहित आन्दोलनलाई तीव्र बनाउने तयारीमा रहेको पार्टी स्रोतले जनाएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार १४:१७   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।