Logo

प्रमुख समाचार

बालकृष्ण खाँणको प्रशंसा : सुवर्ण शमशेरपछि विष्णु पौडेलको बजेट उत्कृष्ट



पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले वर्तमान सरकारले ल्याएको बजेटलाई सुवर्ण शमशेरपछि अहिलेसम्मकै उत्कृष्ट र क्रान्तिकारी बजेट भएको बताएका छन्। शनिबार बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सिमाना जोडिएका पालिकासँगको सहकार्य सम्बन्धी गोष्ठीमा बोल्दै उनले अर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद दिए।

खाँणका अनुसार बजेटले नेपालको वस्तुस्थितिलाई यथार्थपरक ढंगले प्रस्तुत गरेको छ र आर्थिक सुधारको स्पष्ट संकेत दिएको छ। उनले यो बजेट कार्यान्वयनमा समस्या नआउने विश्वास व्यक्त गरे।

कार्यक्रममा खाँणले भारतीय पर्यटकलाई नेपालमा सास्ती हुने विषयमा चासो व्यक्त गर्दै सीमा क्षेत्रमा अनावश्यक चेकिङ हटाउन आग्रह गरे। “बेलहिया, डन्डाखोला, भैरहवा र मंगलपुरसम्म चेकिङ किन?” भन्दै उनले एकीकृत चेकप्वाइन्टको आवश्यकता औंल्याए।

प्रदेश सरकारले भारतीय पर्यटकलाई २५ हजार मात्र ल्याउने सन्दर्भमा निर्णय सच्याएर ५ हजार डलरसम्म ल्याउन सकिने व्यवस्था राम्रो भएको बताए। लुम्बिनी, मुक्तिनाथ र सगरमाथाबाट देशले ठूलो आर्थिक समृद्धि हासिल गर्न सक्ने उनको धारणा थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका योजना मन्त्री धनेन्द्र कार्कीले पनि सीमा क्षेत्रमा पर्यटकलाई सास्ती हुने गुनासो आएको भन्दै सुधारको आवश्यकता औंल्याए। बुटवलका प्रमुख खेलराज पाण्डेयले प्रदेश सरकारबाट सहयोग नपाउँदा स्थानीय सरकार निराश भएको बताए।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार १४:३२   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।