Logo

प्रमुख समाचार

राजावादीसँग सरकार डरिएको पुष्टि भएको छ : लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पक्षमा भइरहेका आन्दोलनप्रति सरकार डराएको स्पष्ट भएको दाबी गरेका छन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले निषेधित क्षेत्र तोक्ने सरकारी निर्णय आन्दोलनप्रति त्रासको संकेत भएको बताए ।

उनका अनुसार, “हिजोसम्म निषेधित क्षेत्र नभएका स्थानमा हाम्रो आन्दोलन हुन लागेको भन्दै एकाएक निषेधाज्ञा लगाइनु सरकार कमजोर भएको प्रमाण हो।” उनले राप्रपाको आन्दोलनमा जनसहभागिता उल्लेखनीय रहेको र यही उत्साहका साथ आन्दोलनलाई थप सशक्त बनाइने बताए।

राप्रपाको आन्दोलन उत्कर्षतर्फ गइरहेको बताउँदै उनले सबै तहका कार्यकर्तालाई आन्दोलनमा सक्रिय रहन आह्वान गरे। “आन्दोलन समिति निर्देशनअनुसार सबै तहबाट कार्यकर्ता परिचालित हुने निर्णय गरेका छौं,” लिङ्देनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते गणतन्त्र पक्षधरको आन्दोलनका लागि काठमाडौँमा आह्वान गरेकाले अब गणतन्त्र र राजसंस्था स्पष्ट ध्रुवीकरणतर्फ गइरहेको पनि उनले बताए।

लिङ्देनले आन्दोलनमार्फत जनता र देशको हितमा राजसंस्थाको पुनःस्थापनाको आवश्यकता पुष्टि हुँदै गएको दाबी गर्दै, राप्रपा यस अभियानलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार ०८:००   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।