Logo

प्रमुख समाचार

केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत नभएको बताएका छन्। आइतबार पार्टी निकट युवा संगठन वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको आलोचना गर्दै माओवादीले व्यवस्थाको रक्षा गर्ने जिम्मा लिने बताए।

प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई आक्रोशका साथ आलोचना गर्दै भने, “यो सरकारको केही हैसियत नै छैन, गफ गर्ने बाहेक केही छैन। हामीले एक लाख मानिस उतारेर देखायौँ, यिनीहरूले गफ गरे – ‘काठमाडौँ कब्जा’ तर लाजै मर्नु देखियो। यसबाट देश दुनियामा एमाले पार्टीको बेइज्जती भयो। यस्ता छन् यिनीहरूलाई, केही मतलब छैन।” उनले थपे, “त्यसकारण यो जिम्मेवारी लिने हामीले नै हो।”

राजावादी आन्दोलनको प्रतिवाद गर्दै प्रचण्डले चैत १५ गते राजावादीहरूले हिंसा, आगजनी र हत्या गरेको घटनामा माओवादीको प्रमुख जिम्मेवारी रहेको बताएका छन्। उनले भने, “राजावादीहरूको जस्तो चरित्र माओवादीले मात्र राजनीतिक र वैचारिक रूपमा प्रतिवाद गर्नसक्छ।”

पार्टी भित्रको गुटबन्दीको विषयमा पनि प्रचण्डले कुरा गरे। उनले पार्टीका गुटबन्दीका समस्यालाई स्वीकार्दै भने, “पार्टीभित्रको रोग वाइसीएलमा पनि सरेको छ। मलाई थाह छ, मुख्य दोषी वाइसीएल होइन, पार्टी नै हो। पार्टीमा समस्या भएको हो भने त्यसका हाँगाबिँगा, शाखा सबैमा रोग सर्ने स्वाभाविक हो।”

प्रचण्डले पार्टीको आत्मसमीक्षा र रूपान्तरण आवश्यक रहेको पनि औंल्याए। “पार्टीले आत्मसमीक्षा गरेर जनतामा जानुपर्ने हो, रूपान्तरण गर्नुपर्ने हो। यदि हामी चोखै छौँ भनेर सोच्नुभयो भने रूपान्तरण हुँदैन,” उनले भने।

यसअघि पार्टीका नेताहरूले गुटबन्दी र आन्तरिक समस्याहरूको समाधानका लागि माओवादी केन्द्रका कार्यकर्ताहरूसँग संवाद र आलोचनात्मक सोच आवश्यक रहेको बताएका थिए।

प्रचण्डको यो अभिव्यक्ति माओवादी केन्द्रका आन्तरिक परिपक्वतामा आउने परिवर्तनको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार २२:०८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।