Logo

प्रमुख समाचार

सुनकोशी मरिन डाइभर्सनमा ढिलाइ भए ठेक्का तोडिनेछ : प्रधानमन्त्री ओली



जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिने कडा चेतावनी दिएका छन्। मधेस प्रदेशको जनकपुरधाममा आयोजना गरिएको “एक निर्वाचन क्षेत्र, एक सडक” अन्तर्गत ६४ वटा सडकको एकैसाथ शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले उक्त चेतावनी दिएका हुन्।

प्रधानमन्त्री ओलीले मधेसका जनताले वर्षौंदेखि सिँचाइको आशामा जमिन बाँझो राख्न बाध्य भएको उल्लेख गर्दै परियोजनामा कुनै पनि किसिमको ढिलासुस्ती सह्य नहुने बताएका छन्। “विकास र समृद्धिमा वामे सराइ होइन, रकेटको गतिमा काम गर्नुपर्छ,” प्रधानमन्त्रीको भनाइ थियो।

उनले ढिलासुस्तीलाई भ्रष्टाचारभन्दा पनि ठूलो अपराध ठहर गर्दै यसको प्रत्यक्ष असर लागत वृद्धिदेखि जनताको विश्वास टुट्नेसम्म पर्ने बताए।

४९ अर्ब ४२ करोड रुपैयाँ लागतमा निर्माणाधीन राष्ट्रिय गौरवको यो परियोजनाले सिन्धुलीस्थित सुनकोशी नदीको पानी मरिन नदी हुँदै रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बाराका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ। साथै, यसबाट ३१.०७ मेगावाट विद्युत उत्पादन गरिनेछ।

परियोजनाको हेडवर्क्स क्षेत्र गत वर्ष बाढी र पहिरोका कारण प्रभावित भएपनि काम तीव्र गतिमा अघि बढाइएको प्रधानमन्त्री ओलीले जानकारी दिए।

मधेस प्रदेशको विकासमा केन्द्र सरकार दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले स्थानीय जनशक्ति विकास गरेर रेल सेवामा नोक्सानी अन्त्य गर्ने, चुरे संरक्षण, कृषिको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य र रंगशाला निर्माणमा विशेष ध्यान दिने बताएका छन्।

अन्तमा उनले सुशासनमा सबैको जिम्मेवारी रहने स्पष्ट पार्दै राम्रो काम गर्नेको सम्मान र गल्ती गर्ने जो कोहीलाई कारबाही गरिने पनि चेतावनी दिए।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार २२:२१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।