काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेको छ । उक्त बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको हो ।
पार्टीको क्रियाशील सदस्यतादेखि भ्रातृ संस्थाको अधिवेशन हुँदै राजावादीको प्रदर्शनलगायतका विषयमा बैठकमा छलफल भएको एक पदाधिकारीले बताएका छन् । आज (सोमबार) बसेको बैठकमा सभापति देउवाले राजावादीको पछिल्लो आन्दोलनबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा देउवाले राजावादीको पछिल्लो प्रदर्शन गम्भीर हुने खालको भएको बताएका छन् । ‘राजावादीहरू सतर्कता अपनाउँदै गम्भीर र सुनियोजित ढंगले लागेका छन्,’ देउवाको भनाइ उदृत गर्दै ती पदाधिकारीले भने, ’हामीले पनि यस विषयमा गम्भीर हुनुपर्यो ।’
बैठकले गणतन्त्रको पक्षमा काठमाडौँमा आमसभा गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । ‘संविधानको पक्षमा पक्षमा सभा गर्ने भन्ने भएको छ । मिति र स्थान चाहिँ आगामी बैठकले तय गर्नेछ,’ उनले भने ।
जेठ १५ गते गणतन्त्र दिवसकै दिन नेकपा (एमाले)ले उत्सव भन्दै काठमाडौँमा झाँकीसहितको ¥याली निकालेको थियो । सोही दिनदेखि राजावादीहरूले गणतन्त्रको विरोधमा प्रदर्शन गरिरहेका छन् । सत्ता नेतृत्वकर्ता एमालेले गणतन्त्रको पक्षमा विभिन्न कार्यक्रम गरेसँगै सत्ता साझेदार कांग्रेसले पनि संविधान र गणतन्त्रको पक्षमा सभा गर्न लागेको हो ।
गत चैत १५ गते भृकुटीमण्डपमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित नेकपा, नेसपा लगायतको संयुक्त समाजवादी मोर्चाले प्रदर्शन गरेका थियाे ।




















प्रतिक्रिया