काठमाण्डौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा जथाभावी गाली गर्नेहरू प्रायः पारिवारिक तनावमा हुने टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘नवप्रवर्तक युवासँग प्रधानमन्त्री’ अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले विशेष गरी युवाहरूलाई सकारात्मक सोच राख्न र उद्यमशील बन्न आग्रह गरे।
“यो फेसबुक–सेसबुकमा मुख छाडेर हिँड्नेहरूलाई परिवारभित्र के भइरहेको छ भनेर हेर्नुभयो भने थाहा हुन्छ, ती मानिसहरू तनावमा हुन्छन्,” प्रधानमन्त्री ओलीले भने। उनका अनुसार सामाजिक सञ्जालमा अरूलाई गाली गर्ने बानी स्वयं व्यक्तिका लागि पनि हानिकारक हुन्छ।
“यस्तो बानीले न आफूलाई राम्रो गर्छ, न आफ्नो स्वास्थ्यलाई, न त पारिवारिक र सामाजिक वातावरणलाई नै,” उनले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले युवाहरूमा देखा पर्ने असन्तुष्टि समाधानका लागि नकारात्मकताबाट होइन, सकारात्मक सोच र क्रियाशीलता आवश्यक भएको बताए। “अरूलाई गाली गर्ने, केही नगर्ने, केवल नकारात्मक सोचमा रमाउने प्रवृत्ति त्याग्नुपर्छ,” उनले भने।
उनले युवाहरूलाई कुनै सानो काम गरेकै भरमा घमण्ड नगर्न पनि सुझाव दिए। “आफ्नो काममा गर्व गर्नु राम्रो हो, तर त्यसलाई घमण्ड बनाउनु गलत हो,” प्रधानमन्त्री ओलीले प्रष्ट पारे।
रोजगारीको समस्या समाधानका लागि सरकार मात्र होइन, निजी क्षेत्र र स्व–उद्यमशीलता पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। “रोजगारी सिर्जना गर्न उद्यमशीलताको विकास अपरिहार्य छ,” उनले जोड दिए।
प्रधानमन्त्री ओलीले नेपालका युवाहरूमा ठूलो सम्भावना रहेको भन्दै, रचनात्मक सोच, नवप्रवर्तन र आत्मनिर्भर बन्ने दिशामा अघि बढ्न प्रेरित गरे।




















प्रतिक्रिया