Logo

प्रमुख समाचार

“संवैधानिक राजा पाल्नु सेत्तो हात्ती पाल्नुसरह हो” : उपमहासचिव प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजतन्त्र र सेत्तो हात्ती दुबै अत्यन्त खर्चिलो भएकाले भ्रममा नपर्न जनतालाई सुझाव दिएका छन्।

मंगलबार काठमाडौं च्यसलमा आयोजित एमाले बागमती प्रदेश सम्पर्क समिति कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रको विकल्पको रूपमा राजतन्त्रको बहस चलाइनु गलत भएको बताए।

“संवैधानिक राजतन्त्र पाल्नु भनेको सेत्तो हात्ती पाल्नु जस्तै हो,” ज्ञवालीले भने, “दुवै खर्चिलो हुन्छन्। त्यसैले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्ने भ्रममा कोही पर्नु हुँदैन।”

उनले पछिल्लो समय केही व्यक्तिहरू, विशेषगरी दुर्गा प्रसाईं जस्ता व्यक्तिले समाजमा अराजकता फैलाउने काम गरेको आरोप लगाए। “पन्ध्र चैतमा जुन हिंसात्मक गतिविधि भयो, त्यो भ्रम फैलाउनेहरूको नतिजा हो,” उनले भने, “अब त्यस्तो दोहोरिन दिने छैनौं।”

ज्ञवालीका अनुसार अहिलेका युवाहरू, विशेषगरी ०६२/६३ पछि जन्मेका पुस्ताले राजतन्त्रको शासन कहिल्यै देखेनन्, त्यसैले उनीहरूमा गणतन्त्रप्रति विश्वास घट्दै गएको देखिएको छ। उनले भने, “अब स्कुलिङ आवश्यक छ — गणतन्त्र के हो, यसको मूल्य के हो भनेर बुझाउनुपर्छ।”

उनले जेठ १५ मा राजसंस्था समर्थकहरूले काठमाडौंमा गर्ने भनिएको आन्दोलनप्रति संकेत गर्दै भने, “हामी पनि त्यही दिन गणतन्त्र उत्सव मनाउने छौं। जनतालाई देखाउने छौं, लोकतन्त्र र गणतन्त्र कति मूल्यवान छन्।”

ज्ञवालीको भनाइमा, गणतन्त्रको नाममा केही कमजोरी भए पनि त्यसलाई सुधार गर्न सकिन्छ, तर राजतन्त्रको पुनर्स्थापना इतिहासलाई उल्ट्याउने जस्तो हुन्छ। “राजतन्त्र समाधान होइन, उल्टो बोझ हो,” उनले प्रष्ट पारे।

कार्यक्रममा उपस्थित एमाले नेताहरूले गणतन्त्रको रक्षा गर्न र जनचेतना बढाउन युवाहरूमाझ अझ व्यापक अभियान सञ्चालन गर्ने बताएका छन्।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार २१:३१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।