भक्तपुर । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आगामी निर्वाचन ‘डिजिटल वार’ हुने दाबी गर्दै त्यसका लागि पार्टीले चाँडो तयारी गर्नुपर्ने बताएका छन्। शुक्रबार भक्तपुरमा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यशालामा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।
गौतमले पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहँदा समेत आफ्नै पार्टीका नेताहरू मौन बस्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे। उनले भने, “पार्टीमाथि गलत आरोप लाग्दा पनि धेरैजसो नेताहरू चुप लागिरहेका छन्, यो प्रवृत्ति परिवर्तन गर्नुपर्छ।”
उनका अनुसार प्रचार र संचारको वर्तमान युगमा कुनै पनि राजनीतिक दलको सफलता त्यसको सशक्त प्रचार संयन्त्रमा निर्भर हुन्छ। “०८४ सालको निर्वाचनमा डिजिटल प्रचार निर्णायक हुने देखिएको छ। यदि हामीले समयमै तयारी गरेनौँ भने पराजयको जोखिम उच्च हुन्छ,” गौतमले प्रष्ट पारे।
एमाले सरकारमा रहँदा भएका महत्वपूर्ण कामहरू जनतासमक्ष पुर्याउन अझ बढी सक्रिय हुनुपर्ने उनको भनाइ थियो। उनले पार्टी कार्यकर्ताहरूलाई सामाजिक सञ्जाल, डिजिटल मिडिया र अन्य संचार माध्यममार्फत जनताको बीचमा पुग्न निर्देशन दिए।
कार्यक्रममा बागमती प्रदेशका प्रचार विभागका पदाधिकारीहरू, जिल्ला प्रतिनिधिहरू र सञ्चारसँग आबद्ध पार्टी कार्यकर्ताहरूको उपस्थिति थियो। कार्यशालामा पार्टीको प्रचार नीति, सन्देश व्यवस्थापन र गलत प्रचारविरुद्ध प्रतिवाद कसरी गर्ने भन्नेबारे छलफल भएको थियो।
गौतमको भनाइले आगामी निर्वाचनमा प्रचार युद्धको रूप फेरिँदै गएको संकेत दिएको छ। परम्परागत प्रचारभन्दा डिजिटल माध्यम प्रभावशाली हुँदै गएकाले एमालेलगायत सबै दलहरू अब डिजिटल रणनिति बनाउन बाध्य हुने देखिन्छ।




















प्रतिक्रिया