Logo

प्रमुख समाचार

एमालेको अध्यक्ष बन्नेबारे विद्यादेवी भण्डारीको प्रतिक्रिया : “समय आएपछि जवाफ दिनेछु”



काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा रहेको स्पष्ट पार्दै नेकपा (एमाले) को आगामी नेतृत्वबारे उठेका चर्चा सम्बन्धमा ‘समय आएपछि’ धारणा स्पष्ट गर्ने संकेत दिएकी छन्।

शुक्रबारदेखि विराटनगरमा सुरु भएको उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भण्डारीले आफ्नो राजनीतिक सक्रियता कायमै रहेको बताइन्। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किएपछि आफू के गर्छिन् भन्ने पत्रकारको प्रश्नमा भण्डारीले भनिन्, “म अहिले पनि सक्रिय राजनीतिमा छु।”

एमालेको नेतृत्वका लागि आफ्नो सम्भावित भूमिकाबारे प्रश्न उठ्दा उनले भने, “समय आएपछि त्यसबारे बोल्नेछु।” यस अभिव्यक्तिले आगामी दिनमा भण्डारीको राजनीतिक कदमप्रति चासो थपिएको छ।

राष्ट्रिय भेलामा बोल्दै उनले गठबन्धनको राजनीति र सिट बाँडफाँटका नाममा महिलाको प्रतिनिधित्व घटेकोप्रति गम्भीर असन्तुष्टि जनाइन्। “राजनीतिक दलहरूले महिलालाई समावेश गरिरहेको जस्तो देखिए पनि व्यवहारमा प्रतिनिधित्व घट्दो छ,” उनले भनिन्, “यो विषयमा गम्भीर समीक्षा र पुनर्विचार आवश्यक छ।”

भण्डारीले स्थानीय तहका महिला जनप्रतिनिधिहरूलाई सशक्त बनाउनुपर्ने र उनीहरूलाई केवल प्रतीकात्मक रूपमा नहेर्न आग्रह गरिन्। साथै, उनले राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरूलाई सुशासन, पारदर्शिता र विकासतर्फ केन्द्रित हुनुपर्ने धारणा पनि राखिन्।

उनको अभिव्यक्ति पछिल्लो समय महिला नेतृत्व र राजनीतिक भूमिकाका विषयमा फेरि बहस सुरु हुने संकेतका रूपमा हेरिएको छ। पूर्वराष्ट्रपति भण्डारी लामो समयसम्म एमाले नेतृत्वमा रहेकी थिइन् र राष्ट्रपति पद सम्हाल्नुअघि उनी एमाले उपाध्यक्ष थिइन्।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार २२:५३   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।