Logo

प्रमुख समाचार

काङ्ग्रेसको महाधिवेशन ०८३ मंसिरअगाडि नै हुन्छ, ढिला गर्न अदालतले अनुमति दिदैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औं महाधिवेशन २०८३ सालको मंसिरअघि नै सम्पन्न हुने प्रस्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. ६ ‘क’ को तेस्रो सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै थापाले आगामी २०८४ को आम निर्वाचनपछि मात्रै महाधिवेशन हुने भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका हुन्।

‘हामीले ०८३ साल मंसिरभन्दा अगाडि नै अधिवेशन गर्नैपर्छ’, उनले भने, ‘यदि तपाईंहरूको दिमागमा ०८४ सालको निर्वाचनपछि मात्रै अधिवेशन हुन्छ भन्ने भ्रम छ भने, आजै त्यस्तो भ्रमबाट बाहिर निस्कनुहोस्।’

थापाले महाधिवेशन सार्ने कुरा अदालतले स्वीकार नगर्ने स्पष्ट पारे। उनले पार्टीभित्र सहमति भएर पनि मिति सार्न नपाइने उल्लेख गर्दै भने, ‘सभापति शेरबहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, म आफैं र विश्वप्रकाश शर्मा सबै मिलेर पनि अधिवेशन सार्न भन्यौं भने अदालतले लगेर देखाइदिन्छ। पाइँदैन।’

थापाले निर्वाचन आयोग, अदालत र संविधानले तोकेको समयमै महाधिवेशन गर्नुपर्ने भन्दै कुनै अन्य पार्टीसँग मिलेर वा नाम फेरेर मात्रै ढिलाइ सम्भव हुने बताए। ‘तर त्यो पनि राजनीतिक र कानुनी हिसाबले जटिल हुन्छ,’ उनको भनाइ थियो।

महामन्त्री थापाले अन्तिम मिति मंसिर भए पनि त्यसको पर्खाइ नगर्नुपर्ने तर्क गरे। ‘त्यो अन्तिम मिति मात्रै हो, त्यसअघिनै अधिवेशन सक्नुपर्छ,’ उनले भने। ‘स्थानीय चुनावलाई असर नपरोस् भनेर अधिवेशन सकेसम्म चाँडो गर्नुपर्छ।’

उनले कांग्रेसका सबै क्रियाशील सदस्यहरूको नामावली छिटो टुंग्याउन आग्रह गरे। ‘तपाईंहरूले जति छिटो क्रियाशील सदस्यता नटुंग्याउनुहुन्छ, त्यति नै ढिलो अधिवेशन हुन्छ। जति छिटो सक्नुहुन्छ, त्यति चाँडो महाधिवेशन ल्याउन सकिन्छ,’ उनले स्पष्ट पारे।

थापाले पार्टीमा संगठनात्मक स्पष्टता आवश्यक रहेको भन्दै अबको ध्यान कार्यशैलीमा सुधार गर्नेमा दिनुपर्ने धारणा राखे। उनका अनुसार कांग्रेसले सशक्त र जवाफदेही संगठनमार्फत आगामी निर्वाचनको सामना गर्नुपर्छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार १४:०१   :  बजे

384
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।