काठमाडौं । राजसंस्था पुनस्थापनाको लागि गठित संयुक्त जनआन्दोलन समितिमा भाँडभैलो मच्चिएको छ ।
व्यवस्था पल्टाउने निर्णायक आन्दोलन भन्दै सडकमा ओर्लिएका राजावादीहरू पाँच दिन पनि टिक्न नसकेपछि अन्तरकलह चर्किएको हो । समितिका प्रवक्ता स्वागत नेपालले आफूले उक्त जिम्मेवारी छोडेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जलामा लामो धारणा राख्दै उनले अब नयाँ ढंगले आन्दोलनलाई उठाउन समिति पुनर्गठन गरिनेसमेत बताएका छन् । बुढा नेताको स्वार्थ र अहंकारले आन्दोलन तुहिँदै गएको निष्कर्ष उनको छ ।
“बुढाहरूलाई मिलाउन सम्झाउने प्रयास गर्यो तर बुढाहरूको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्ने काम भयो । समीक्षा बैठक पनि मेडियाको बीचमा गरेर भताभुङ्ग पारे” नेपालले भनेका छन्, उनीहरूले जनभावनालाई तुहाउने प्रयास गरे, अवसरवादी अहंकारी र स्वार्थी बुढाहरूलाई छोडेर अब आन्दोलन नयाँ शीराबाट आउनेछ।”
बुधबार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा देखिएको दृश्यपछि युवाहरूलाई फकाएर मात्रै दोस्रो चरणको आन्दोलनमा होमिने तयारी रहेको उनको भनाइ थियो । तर, अब भने युवालाई समेटेर छुट्टै आन्दोलनका कार्यक्रम सार्वजनकि गर्ने उनको संकेत छ ।
“देश-विदेशबाट नयाँ संरचनासहित हामी आउँदैछौं, कोही पनि चिन्तित र त्रसित नबन्नु होला, देशघाती भ्रष्टाचारीहरूलाई अन्त्य गर्नैपर्छ’, उनले थपेका छन् । समितिमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पछल्लो समय सक्रिय छैनन् ।
चैत १५ गते तीनकुने घटनामा पक्राउ परी छुटेपछि दुवै जना आन्दोलनमा देखिएका छैनन् । पार्टीका बैठकमा भने उनीहरूको नियमित सहभागी रहेको बताइन्छ । उता, आन्दोलनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईको समूह पनि नवराज सुवेदी नेतृत्वको समितिबाट अलग भैसकेको छ ।
जेठ १५ गते समितिले आयोजना गरेको प्रदर्शनअघि प्रसाइको समूहले विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागी नहुन कार्यकर्ता र समर्थकहरूलाई निर्देशन दिएको थियो । स्मरण रहोस्, गत चैत पहलो साता पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष चासो र निर्देशनमा सुवेदीलाई संयोजक तोकेर राजावादीहरूले आन्दोलन समिति घोषणा गरेका थिए ।
त्यतिबेला राजावादीहरूको सबैभन्दा ठूलो वैधानकि शक्ति राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले समितिमा नबस्ने सार्वजनकि रूपमै बताएका थिए । त्यसको केही समयपछि सोल्टी होटलमा पूर्वराजासँग लन्च मिटिङ गरेका उनीहरू त्यहाँको निमन्त्रणासँगै बल्ल सुवेदीलाई नेता मान्न तयार भएका खबर जन भावनामा उल्लेख छ ।
त्यसयता मूलतः सबै राजावादी शक्तिहरू एकगठ देखिए पनि आन्दोलनले भने गति लिन सकेन । पछिल्लो पटक आन्दोलनको समीक्षा गर्दै नयाँ कार्यक्रम बनाउने बारे छलफल गर्न बसेको बैठकमा युवाहरूले हो-हल्ला गरेपछि भाँडिएको थियो । त्यसयता सुवेदी नेतृत्वको समितिबाट राजावादीहरू बाहिरिने क्रम चलिरहेको छ ।




















प्रतिक्रिया