काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो ‘नाडा अटो शो २०२५’को मिति घोषणा भएको छ ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपलमा ‘नाडा अटो शो’ आयोजना हुने जानकारी गराएको हो ।
उक्त शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ । ‘गो फर मोर’ भन्ने नाराका साथ सञ्चालन हुने अटो शोमा नवप्रविधि, दिगोपन, स्मार्ट मोबिलिटी र सम्पूर्ण अटोमोटिभ पारिस्थितिकी प्रणालीलाई समेट्ने तयारी गरिएको छ ।
शोमा चारपांग्रे, दुईपांग्रे तथा हल्का व्यावसायिक सवारी साधनका साथै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायक लगायत १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन् । प्रदर्शनी ३ लाख वर्गफुट क्षेत्रमा फैलिएको छ भने प्रदर्शनी क्षेत्रफल मात्रै १ लाख ६२ हजार ५ सय वर्गफुट रहेको छ । आयोजकले एक लाखभन्दा बढी आगन्तुकको उपस्थितिको अपेक्षा राखेको छ ।
नाडा अटो शो २०२५ मा युनिक प्रविधिहरू सार्वजनिक गरिनेछ । विशेषगरी UNITREE का अत्याधुनिक चारपांग्रे रोबोटहरू र Deepal eVTOL UAV नामक उड्ने सवारी साधन (सहरी हवाइ मोबिलिटी) पहिलो पटक नेपाली दर्शकसामु प्रस्तुत गरिनेछ ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड तथा ३५ कम्पनीका अटो पार्ट्स र सहायक सेवाहरू समेत प्रदर्शित हुनेछन् ।
प्रदर्शनीको अर्को आकर्षण भनेको ऐतिहासिक सवारी साधनहरूको ‘विन्टेज मोटर शो’ हो । यसमा मोरिस माइनर, फियाट, मर्सिडिज, टोयोटा आरटी४०, बीटल, मिनी कुपर, भिएडब्लु बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया र टोयोटा एमआर२ जस्ता पुराना सवारी प्रदर्शित हुने जनाइएको छ ।
दैनिक भाग्यशाली विजेता कार्यक्रम राखिएको छ जसअन्तर्गत १२ जना भाग्यशाली आगन्तुकहरूले १ वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्राप्त गर्नेछन् ।
नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ नेपाली अटोमोबाइल क्षेत्रका सबै सरोकारवालाका लागि विशेष अवसर भएको उल्लेख गर्दै आम नागरिकलाई उपस्थितिको लागि आग्रह गरेका छन् ।





















प्रतिक्रिया