Logo

अर्थ

ग्रे लिष्टबाट बाहिरिन सरकारको नयाँ रणनीति, १९ ऐन संशोधन



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताए ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले ग्रे लिष्टबाट मुक्तिका लागि सरकारले व्यापक कानुनी सुधार, कार्ययोजना कार्यान्वयन र निगरानी प्रणालीलाई सशक्त बनाएको बताए ।  उनले भने,‘नेपालको संगठीत र सघन प्रयासहरुको परिणामस्वरुप निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्कनेछ ।’

अर्थमन्त्री पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी ऐन २०८०’ मार्फत १९ वटा ऐन संशोधन गरिएको उल्लेख गरे । साथै, सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०८१ पनि लागू भइसकेको जानकारी दिए ।

नेपालले २०८१–८५–८६ सम्मको रणनीति तथा कार्ययोजना लागू गरिसकेको छ। ग्रे लिष्टबाट शीघ्र बाहिरिने लक्ष्यसहितको सुधारात्मक कार्यसूची ‘२०८२ को विस्तृतीकरण’ निर्देशन समिति मार्फत स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।

शिघ्रातिशीघ्र मुलुकलाई ग्रे लिस्टबाट बाहिर ल्याउन र आगामी दिनमा समेत यस्तो सूचीमा पर्न नदिने गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि निर्देशक समितिले ग्रे लिस्ट बाट बाहिरिने शीध्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ स्वीकृत गरी कार्यान्वयनमा आएको, एसिया प्यासिफिक ग्रुपबाट प्राप्त रि रेटिङको रिपोर्टिङ ढाँचामा प्रतिवेदन गरी फाइनान्सियल इन्टेलिजेन्स युनिटमार्फत प्रतिवेदनको प्रबन्ध गरिएको अर्थमन्त्रीको भनाइ छ ।

अर्थमन्त्री पौडेलले सम्पत्ती शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने वस्तु व्यवसायी (सूचक संस्था)लाई जारी गरेको निर्देशन २०८२ कार्यान्वयनमा रहेको पनि सदनलाई जानकारी गराए ।

त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा क्यासिनो व्यवसायी (सूचक संस्था)लाई जारी गरेको निर्देशन २०८२ कार्यान्वयनमा रहेको, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा घर जग्गा कारोबार सम्बन्धी (सूचक संस्था)लाई जारी गरेको निर्देशका २०८२ कार्यान्वयनमा रहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १६:३१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।