Logo

अर्थ

नेपाल र श्रीलंका चेम्बरबीच सहकार्य समझदारीमा हस्ताक्षर



काठमाडौं । नेपाल-श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा हस्ताक्षर भएको छ ।

नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेष्डर चाल्स डि अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थितीमा भएको जुम मिटिङ मार्फत नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनएससिसिआई) का महासचिव नरेन्द्र बल्लभ पन्त र श्रीलंकाका राष्ट्रिय निर्यातकर्ता चेम्बर अफ कमर्शका एम शिहम मारिकर (महासचिव र प्रमुख कार्यकारी अधिकृत) बीच हस्ताक्षर भएको हो ।

यो सम्झौता ऐतिहासिक भएको भन्दै मुनासिंघेले आगामी दिनमा दुई मुलुकबीच व्यवसायिक गतिविधी बढ्ने धारणा राखिन् । आउँदो सेप्टेम्बर १८ देखि २१ मा श्रीलंकामा इण्डष्ट्रियल एक्स्पो हुने भएको छ । उक्त एक्स्पोमा नेपालका प्रतिनिधीमण्डल सहभागी हुने भएका छन् । आगामी दिनमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो हुने र श्रीलंकाका प्रतिनिधी सहभागी हुने भएका छन् ।

दुई मुलुकबीच सेवा र औद्योगिक सहयोग बढाउने साझा चाहनालाई ध्यानमा राख्दै दुई संस्थाहरूबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षरपछि दुई संस्थाका सदस्यहरू एकअर्काको मुलुकमा व्यक्तिगत एवं सामुहिक भ्रमण गर्न सक्नेछन् । साथै एकअर्काको देशमा व्यापार मेला, प्रदर्शनी आयोजना गर्न प्रोत्साहन गर्ने योजना रहेको छ ।

सम्भव र उपयुक्त भएसम्म, सूचना आदानप्रदान गर्ने र एकअर्कालाई सहयोग गर्नुका साथै आफ्ना सदस्यहरूलाई त्यस्ता कार्यक्रमहरूमा भाग लिन प्रोत्साहित गर्ने सम्झौतामा उल्लेख छ । आ–आफ्नो देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मेला, प्रदर्शनी र व्यापार प्रवद्र्धन कार्यक्रमहरूको आयोजना गरिने उल्लेख छ ।

सम्झौतापत्रमा उल्लेखित उद्देश्यलाई अगाडि बढाउन दुवै पक्षले नेपाल र श्रीलंकामा एकअर्काको कार्यालय र सचिवालय सुविधाहरूको उपयोग गर्न सहमत भएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १७:१३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।