काठमाडौं । पेरु गणतन्त्रका राजदूत जाभियर पाउलिनिचले पर्या–पर्यटनमा नेपालले विश्वलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै यसले दक्षिण अमेरिकी मुलुकहरुलाई समेत प्रेरणा मिलेको बताएका छन् ।
पेरु गणतन्त्रको २०४ औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित अवैतनिक दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने भारतका लागि पेरु गणतन्त्रका राजदूत पाउलिनिचले नेपालले पर्यापर्यटनसहित जलविद्युत् उत्पादनका क्षेत्रमा गरेको प्रयाशको प्रशंशा गरे ।
‘हामी जलविद्युत, दिगो पर्वतीय विकास तथा इको–पर्यटनमा नेपालको विश्वव्यापी नेतृत्वको गहिरो प्रशंसा गर्दछौं,’ राजदूत पाउलिनिचले भने, ‘जसले हाम्रो एन्डियन समुदायलाई प्रेरणा दिएको छ र भावी सहकार्यसँगै एउटा बलियो आधारको रूपमा काम गरेको छ ।’
नेपालका नवीकरणीय ऊर्जा, पूर्वाधार तथा हरित नवप्रवर्तनसम्बन्धी आफ्ना आकांक्षासँग यो प्रयाश अझ प्रासंगिक बन्दै गएको उनको भनाइ छ ।
आफूहरु कृषि, पर्यटन, शैक्षिक, आयुर्वेद र प्राकृतिक चिकित्सा लगायतका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको र त्यसका निमित्त दुई मुलुकका जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा नेपालका लागि पेरु गणतन्त्रका अवैतनिक वाणिज्य दूत सुमित अग्रवालले पेरु गणतन्त्रको वाणिज्यदूतको रूपमा सेवा गर्न पाउनु आफ्ना लागि महत्वपूर्ण अवसर रहेको यस जिम्मेवारी र अवसरलाई दुवै मुलुकको हितमा प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा काठमाडौंस्थित विभिन्न मुलुकका वाणिज्यदूत तथा कुटनीतिक र सामाजिक क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।





















प्रतिक्रिया