काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्ममा नेपालका वाणिज्य बैंकहरूले खुद नाफामा उल्लेख्य वृद्धि गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार खुद नाफा गत वर्षको तुलनामा ४३.६८ प्रतिशतले बढेर ७१ अर्ब १८ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ४९ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
यो वर्ष २० मध्ये १६ वटा बैंकको नाफा बढेको छ । चार वटा बैंकको नाफा घटेको छ । घट्ने बैंकहरुमा नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक र सिटिजन्स बैंक रहेका छन् ।
गत आवमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको ६ अर्ब १९ करोडको तुलनामा १५.०१ प्रतिशतले बढी हो ।
सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । यस बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आफ्नो नाफामा यो वर्ष ६४.४४ प्रतिशत वृद्धि गरेको छ । गत वर्ष ४ अर्ब १० करोड ८८ लाख रुपैयाँ नाफा कमाएकाे थियाे ।
सर्वाधिक नाफा कमाउनेको तेस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ कमाएकाे छ । यो वर्षको नाफा गत वर्षको तुलनामा १.१० प्रतिशत बढी हो । गत वर्ष बैंकको नाफा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ कमाएकाे थियो ।
गत आवमा प्रभु बैंकले ५ अर्ब ४४ करोड नाफा कमाएकाे छ । गत वर्ष ५१ करोड ८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियाे । यो ९६५.४१ प्रतिशत बढी हो । एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्ष बैंकको नाफा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ थियो । बैंकले यो वर्ष नाफामा ३२.८१ प्रतिशत वृद्धि गर्न सफल भएको हो ।
यस अवधिमा कृषि विकास बैंकले बैंकले ४ अर्ब १५ करोड ४४ लाख खुद मुनाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको थियो । जुन गत आवको तुलनामा ४३.३८ प्रतिशतले बढी हो । लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९२ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंककाे ४०.९७ प्रतिशतको आकर्षक वृद्धि भएकाे छ । प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड खुद नाफा कमाएकाे छ । गत वर्ष बैंकको नाफा ३ अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेको थियो । यो वर्ष बैंकको नाफा १४.७२ प्रतिशतको वृद्धि भएको हो ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष बैंकको नाफा २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ थियो । बैंककाे नाफामा ४९.५३ प्रतिशतको वृद्धि भएकाे छ । नेपाल बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष जम्मा २ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियाे ।
सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकको नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । एनएमबि बैंकले ३ अर्ब २८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सानिमा बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष बैंकको नाफा २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ थियो । कुमारी बैंकले २ अर्ब ११ करोड ६० लाख रुपैयाँ कमाएको छ । बैंकले गत वर्ष केवल ४६ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियाे ।
माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष बैंकको नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ थियो । बैंकले ९२.४५ प्रतिशतको उच्च वृद्धि गरेकाे छ । हिमालयन बैंकले १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्ष ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ थियो । बैंककाे नाफामा ७.५१ प्रतिशतको गिरावट आएको छ । गत आवमा नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्ष १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ थियो । बैंकको नाफामा ९.८६ प्रतिशतले कमी आएको छ ।
सिटिजन्स बैंकले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्ष १ अर्ब ३२ करोड ७ लाख रुपैयाँ थियो । बैंककाे नाफामा २.०८ प्रतिशतको सामान्य गिरावट आएकाे छ । एनआईसी एसिया बैंकको नाफामा सबैभन्दा ठुलो गिरावट आएको छ । गत वर्ष ७० करोड १४ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ७६.९७ प्रतिशतले घटेर १६ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ ।




















प्रतिक्रिया