काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदरअनुसार साउनको तुलनामा भदाैमा ब्याजदर घटेको हो ।
भदौमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको छ । साउन महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत रहेकोमा भदौ महिनाको लागि यो ५.५७ प्रतिशतमा कायम भएको छ ।
भदौमा ८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । ब्याजदर घटाएका बैंकमा कृषि विकास बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल एसबीआई बैंक छन् ।
११ बैंकले ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् । स्थिर राख्नेमा सिटिजन्स बैंक, एनएमबी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक र नेपाल बैंक छन् । एउटा बैंक प्रभुले भने बढाएको छ ।
प्रभु बैंकले भदौमा ५.३५ प्रतिशत दिने भएको छ । साउनमा व्यक्तिगतमा ४.२५ प्रतिशत ब्याज दिएको थियाे । बैंकले संस्थागत तर्फ भने ३.२५ प्रतिशत नै ब्याज प्रदान गर्ने भएको हो ।
भदौ महिनाका लागि एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.७५ प्रतिशत ब्याज दिने भएको छ । साउनमा भने क्रमशः ६.२५ प्रतिशत र ५.२५ प्रतिशत ब्याज प्रदान गरेको थियो । सानिमाले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत तर्फ ३.७५ प्रतिशत, कुमारीले व्यक्तिगत तर्फ ५.२१ प्रतिशत र संस्थागत तर्फ ४.०१ प्रतिशत, सिद्धार्थले व्यक्तिगत तर्फ ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगत र संस्थागत तर्फ ५ प्रतिशत र ४ प्रतिशत ब्याज दिने भएका छन् ।
त्यस्तै, कृषि विकास बैंकले व्यक्तिगतमा ५.२ प्रतिशत र संस्थागतमा २.८५ प्रतिशत, नेपाल एसबिआई बैंकले व्यक्तिगतमा ५.२५ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले व्यक्तिगतमा ५.१३ प्रतिशत र संस्थागतमा २.७५ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।
भदौ महिनाका लागि पनि माछापुच्छ्रे, प्राइम, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा समान ६–६ प्रतिशत ब्याज दिने भएका छन् । संस्थागत तर्फ भने क्रमशः ४ प्रतिशत, ३.१ प्रतिशत, ४.२५ प्रतिशत, ५ प्रतिशत र ५ प्रतिशत तोकेको छन् । गत साउनमा पनि यी बैंकहरुले व्यक्तिगत र संस्थागत दुवै तर्फ सोही ब्याज प्रदान गरेका थिए ।
राष्ट्रिय वाणिज्य, नबिल र सिटिजन्स बैंकले पनि व्यक्तिगतमा समान ५.५ प्रतिशत ब्याज दिने भएका छन् भने संस्थागत तफ भने क्रमशः ४ प्रतिशत, ४.०५ प्रतिशत र ३ प्रतिशत ब्याज दिने भएका हुन् ।
भदौका लागि नेपाल बैंकले व्यक्तिगत तर्फ ५.४ प्रतिशत र संस्थागतमा ३.७५ प्रतिशत तोकेको छ । एनआइसी एशियाले पनि व्यक्तिगत मुद्दति निक्षेपमा ६.२५ प्रतिशत र संस्थागतमा ५.२५ प्रतिशत ब्याज तोकेको छ ।




















प्रतिक्रिया