Logo

अर्थ

आईपीओ ल्याउँदै दार्चुला पावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल



काठमाडाैं । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात रु.१०० अंकित दरका ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरका तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दार्चुला पावर लिमिटेडको स्थापना जलविद्युत आयोजना विकास तथा सञ्चालनको लागि गरिएको कम्पनी हो । जसको प्रमुख उद्देश्य राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन गरी आपूर्ति गर्नु भएको कम्पनीले जनाएको छ ।

कम्पनीले हाल २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना चमेलिया खोलामा आधारित रन–अफ–रिभर प्रकारको आयोजना हो, जुन दार्चुला जिल्लाको मार्मा गाउँपालिका, सुदूरपश्चिम प्रदेश, नेपालको सुदुर पश्चिमी क्षेत्रमा अवस्थित छ ।

यस कम्पनीको प्रमुख प्रवद्र्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो । जुन नेपालको विद्युत क्षेत्रमा अग्रणी कम्पनी हो र यस कम्पनीको मुख्य कारोबार राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन तथा आपूर्ति गर्नु हो । दार्चुला पावर लिमिटेडमा अपिपावर कम्पनी लिमिटेडको प्रमुख सेयर स्वामित्व रहने गरी लगानी गरेको छ । प्रवद्र्धकको रूपमा परियोजनाको विकासको लागि आवश्यक स्वपूँजी लगानी गर्नेछ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १६:१२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।