Logo

प्रमुख समाचार

अब ‘भिजिट भिसा’मा विदेश जाँदा अध्यागमनले नरोक्ने



काठमाडौं । अध्यागमन विभागले अब पर्यटन भिसा (भिजिट भिसा)मा विदेश जाने नेपाली कसैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागनमा नरोक्ने निर्णय गरेको छ ।

एजेन्टहरूले सेटिङमा ‘भिजिट भिसा’मा धेरै नेपालीलाई विदेश पठाउने गरेको बाहिरिएपछि अध्यागमन विभागले यस्तो निर्णय गरेको हो । विभागले आइतबार एक सूचना प्रकाशित गरी भिजिट भिसामा विदेश जानेलाई अब अध्यागमनमा नरोक्ने निर्णय भएको जानकारी दिएको हो ।

अनुमान, शंका र भौतिक हैसियतको तजबिजी मूल्यांकनको आधारमा आफ्नै नागरिकहरूलाई विभेदपूर्ण व्यवहार गर्नुहुँदैन भन्ने कुरामा प्रष्ट रहेको अध्यागमन विभागले जनाएको छ ।

“सोही अनुरुप अध्यागमन प्रशासनले अब उप्रान्त पर्यटकीय प्रकृतिका भिसामा जाने कुनै पनि नेपाली नागरिकलाई कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने विषय र तथ्यगत रूपमा थप छानबिन गर्नुपर्ने सूचना वा जानकारीबिना निजको हैसियत जाँच गरी प्रस्थानमा रोक नलगाउने निर्णय गरेको छ,” अध्यागमन विभागले जारी गरेको सूचनामा भनिएको छ ।

केही महिनाअघि अध्यागमनका कर्मचारीसँगको मिलेमतोमा एजेन्टहरूले नेपालीहरूलाई सेटिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश पठाउने गरेको कुरा बाहिरिएको थियो । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि नाम जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उनको राजीनामा र उच्चस्तरीय तथा संसदीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभामा विरोध गर्दै आएका छन् ।

सरकारले यस सम्बन्धमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा छानबिन समिति पनि गठन गरेको छ, जसले हाल छानबिन गरिरहेका छ ।

यसैबीच गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले आइतबार एक सूचना प्रकाशित गरी अब भिजिट भिसामा विदेश जानेलाई नरोक्ने निर्णय भएको जनाएको हो ।

आइतबार जारी सूचनामा विभागले कानुनले तोकेका वैध राहदानी र भिसा, दुईतर्फी हवाई टिकट, होटेल बुकिङ वा आफन्तसँग बस्ने भएमा सोको प्रमाण, तोकिएबमोजिमको डलर सटही र आवश्यकताअनुसार स्वःघोषणा लगायतका वैध कागजात लिएर सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार २०:५४   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।