पोखरा । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को आयोजनामा मङ्गलबारदेखि पोखराको लेकसाइडमा तिज मेला सुरु भएको छ । तेस्रो संस्करणको मेला दुई दिनसम्म सञ्चालन हुनेछ ।
हरितालिका तीजको अवसरमा आयोजित महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकमार थापाले संस्कृति संरक्षणमा यस्ता महोत्सव महत्त्वपूर्ण हुने बताए ।
सहभागीहरूले सभ्य र अनुशासित रूपले तीज मनाउनुपर्नेमा जोड दिए ।
टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले चौरमा बसेर तीज गीत गाउने परम्परा हराउँदै गएको अवस्थामा उक्त परम्पराको पुनर्जागरणका लागि पनि महोत्सव आयोजना गरिएको बताइन् ।
तिज पर्वलाई महिला सशक्तीकरणसँग जोड्न महोत्सवको आयोजना गरिएको उनको भनाई छ । मङ्गलबारदेखि नै तिज गीत प्रतियोगिता पनि सुरु भएको महासचिव शोभा पौडेलले बताइन् ।
सबैजसो सहभागी समूहले पर्यटनसँग सम्बन्धित तीज गीत प्रस्तुत गरे । बुधबार पनि तिज गीत प्रतियोगिता सञ्चालन हुनेछ ।
तिज गीत प्रतियोगितामा पहिलो हुनेले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४/४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसबाहेक रस्साकस्सी, घैँटो फुटाउने, सारी दौड लगायत प्रतियोगिता बुधबार हुनेछ । यस्तै, महिला सशक्तीकरण सम्बन्धी दुई वटा ‘टक सो’ (संवाद कार्यक्रम) आयोजना गरिएको छ ।
परम्परागत भेषभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महोत्सवले सहयोग पुग्ने निवर्तमान अध्यक्ष कमला गिरी बताउँछिन् ।




















प्रतिक्रिया